नेपालगन्ज— बाँकेको कोहलपुर नगरपालिका–११ की १२ वर्षीया प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि आइतबार तनावग्रस्त बनेको कोहलपुरमा सोमबार पनि सबै विद्यालय बन्द छन् । प्रहरी र विद्यार्थी बीच झडप हुँदा आइतबार ४० भन्दा बढी घाइते भएपछि प्रशासनले कर्फ्यू लगाएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गरेको थियो ।
सोमबार स्थिति सामान्य भए पनि कोहलपुर वरिपरि निषेधित क्षेत्र घोषणा गरिएको छ । फेरि प्रदर्शन भए कर्फ्यू लाग्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
कोहलपुरका विद्यालयहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सोमबार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।
कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । प्रहरीले विद्यार्थीहरुमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।
नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीहरुले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन् ।
पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्याली चाबहिल चोक परिक्रमा गरी पशुपति क्याम्पसमा फर्केर समापन भएको थियो ।
आइतबार ट्रकको ठक्करबाट घाइते भएकी त्रिभुवन नमूना माध्यमिक विद्यालयमा ७ कक्षा अध्ययनरत प्रकृतिको काठमाडौंको बीएन्डबी अस्पतालमा उपचार भइरहेको छ । चन्दलाई ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीले घटनास्थलमै जलाइदिएका छन् ।