६ थरी क्यान्सरले गाँजेको बिरामीबाट मिल्यो जिउने कला [अनुभूति]

२०७६ मंसिर २३, सोमबार २२:१७

शुसिला वाईबा-

मृत्यु शब्द नै त्रासपूर्ण छ । अझ “तिम्रो मृत्यु धेरै नजिक छ, तिम्रा बचेका दिनहरु अब आफन्तसँग हाँसीखुशी बाँच” भन्ने सुन्दा कस्तो हुन्छ होला !

एक दिनको कुरा हो । मध्यान्हको समय थियो । अफिसमा स्टाफ रुमको घन्टी ट्यार्रर बज्यो । कस्टमर आएको संकेत थियो त्यो । मैले तुरुन्तै उनलाई रिसिभ गरे । शुरुमा त उनलाई चिन्नै मुश्किल भयो । हाम्रो नियमित कस्टमर भएर पनि उनी धेरै समयको अन्तरालपछि मात्र आएकी थिइन् ।

अक्सिजनको सानो ट्यांकी उनको साथमा थियो । ट्यांकीबाट निस्किएको सानो पाइप उनको नाकमा जोडिएको थियो । उनको पेट सुन्निएर अटसमटस देखिन्थ्यो । अनुहार र हातखुट्टा पनि सुन्निएका । धेरै कमजोर देखिन्थिन् । तर पनि उनको मुहार चाँहि हँसिलै लाग्यो । चिन्तारहित पनि देखिन्थ्यो ।

उनी पहिले पहिले आउँदाको स्मरणमा एकै छिन घोत्लिन पुगेँ म । सधै हाँसेर बोल्थिन् । लाग्दथ्यो उनको जीवनमा कुनै समस्या नै थिएन, छैन, आउने पनि छैन । अत्यन्तै मिलनसर स्वभावको उनी सबैका प्रिय कस्टमर थिईन् । सबैलाई हसाउँथिन् । आफू पनि मन खोलेर हाँस्थिन् । जीवन बाँच्नुको मज्जा देखिन्थ्यो उनमा । उनी आउँदा हामी सबै मज्जाले रमाउँथ्यौ । खाइलाग्दी हृष्टपुष्ट थिइन् । तर आज, उनलाई यो हालतमा पाउँदा म तिनछक परेँ ।

उनलाई सेवा दिने जिम्मा मैले नै लिएँ । किनकी, म उनीसँग कुरा गर्न चहान्थेँ । मैले चिटिक्क परेको ट्यांकीको बारेमा सोधेर कुरा शुरु गरेँ । मलाई त्यो ट्यांकीबारे जानकारी लिन मन लागेको अर्को कारण मेरी आमा थिइन् । आमालाई पनि नेपालमा त्यस्तै ट्यांकीको जरुरत बढेको अवस्था थियो ।

मैले मनमा लागेका धेरै जिज्ञासाहरु उनका सामू फ्यालेँ । उनले कति पनि झर्को नमानी मलाई बताउँदै गइन् । उनीसँग ६ थरीका क्यान्सर रहेछन् । निको हुने कुनै सम्भावना नै रहेनछ । उनलाई डाक्टरले डेटलाइन पनि दिइ सकेको रहेछ । उनलाई यो तीतोसत्य स्वीकार्नु बाहेक विकल्प भनेको बाँचुन्चेल जीवन रमाउने नै रहेछ । उनले त्यो विकल्पलाई अत्याधिक ब्यवहारमा उतारेको देखेर मलाई अचम्ममात्र लागेन, बरु जीवन जिउने कलाको पनि ज्ञान मिल्यो । त्यही साँझ मैले आमालाई पनि नेपालमा फोन गरेर सबिस्तार सुनाएँ । मलाई मनमा केही सन्तोषको अनुभूत पनि भयो ।

उनी अझै आफ्नो कार्यालयमा सधै झै ब्यस्त रहँदा रहेछिन् । आफ्ना कर्मचारी अनि साथी सँगीसँग बसउठ, हाँसखेल, ठट्टा रमाइला गर्ने बानी पनि उस्तै । शारीरिक कमजोरीका कारण गाह्रो हुनु अर्को कुरा । तर स्वाभवले पहिले जस्तै । उनले सुनाइन्, “अन्तिम दिनसम्म पनि म सकेसम्म काममा नै ब्यस्त रहन्छु ।” उनीसँग भएको कला, शक्ति, ज्ञान, विवेक सबै सकेसम्म अरुलाई छाडेर जान चाहेको बताइन् ।

दुई महिनापछि उनको छोराको बिहे रहेछ । त्यसको लगत्तै श्रीमानको ७०औं जन्मदिन । यी दुई कार्यलाई जीवनकै विशेष महत्वका सम्झिएकी रहेछिन् उनले । उनलाई थाहा रहेछ न त उनले श्रीमानको ७१ औं जन्मदिनमा सहभागी हुन पाउनेछिन् न नातिनातिनाको मुख हेर्न नै । यी दुई काम सम्पन्न भएपछि खुशी साथ मृत्युको डोली चढ्न पनि उनी तयार देखिन्थिन् ।

छुट्ने बेला उनले मलाई भनिन्, “मलाई जिन्दगीसँग केही गुनासो छैन। लामै जीवन त पाइनँ । तर म जति जिउन पाउँछु, खुशी र सन्तुष्टि जीवन जिउँछु ।” कस्तो सहजै भनिन् उनले मृत्यु अँगाल्नु पनि कतै होलिडे जान लागेकी जस्तै गरेर । यस्तो बलियो आत्मबल भएको आजसम्म मैले कोही देखेकी छैन । मृत्युको काखमा बसेर पनि सहजै मुस्कुराउन सक्ने ! शारीरिक कठिनाईहरुसँग लड्दै उनी सधै सकरात्मक सोच बोकेर होला, मृत्युसँग पनि डराएको देखिएन । छुट्ने बेला मेरा आँखाहरु रसाए । तर उनले हाँस्दै दुई हप्तापछि फेरि आउने वाचा गरिन् । उनी हातमा त्यो चिटिक्कको अक्सिजन ट्यांकी ह्यान्ड ब्यागको सट्टामा झुन्डाउँदै बाटो लागिन् । म उनलाई देखुन्जेल हेरी रहेँ ।

सम्बन्धित समाचार