९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

चिलीमा ३८ जना सवार सैनिक विमान बेपत्ता, खोजी जारी



सान्टियागो– चालक दलका सदस्यसहित ३८ जना सवार चिलीको सैनिक विमानसँग सोमबार रेडियो सञ्चार सम्पर्क विच्छेद भएको छ ।

चिलीको वायुसेनाका अनुसार अन्टार्कटिका हवाई अखडाका लागि चिलीको दक्षिणी क्षेत्रबाट उडान भरेको केही क्षणमै विमानसँग सञ्चार सम्पर्क विच्छेद भएको थियो ।

यसमा सवार व्यक्तिमध्ये १७ जना चालक दलका सदस्य र अन्य २१ यात्रु थिए ।

चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले एक ट्विटमा आफू गृहमन्त्री गोन्जालो ब्लूमेलसँगै पुन्ता एरेनास जाने बताएका छन् । त्यहाँ रक्षामन्त्री अल्बर्टो एस्पिनासँग खोज र उद्धार अभियानको अनुगमन गर्ने कार्यक्रम तय भएको राष्ट्रपति पिनेराले बताएका छन् ।

वायुसेनाको विज्ञप्तिमा सी–१३० हर्कुलस बिमान स्थानीय समय अनुसार अपराह्न ४ बजेर ५५ मिनेटमा पुन्ता एरिनासबाट उड्नासाथ सञ्चार सम्पर्क विच्छेद भएको जनाएको छ ।

वायुसेनाले साँझ ६ बजेर १३ मिनेटमा ‘सतर्कताको अवस्था’ घोषणा गरी अरु विमान र चिली नौसेनाका जहाजहरूका साथ खोज तथा उद्धार अभियान सुरू गरेको थियो ।

४ इञ्जिनयुक्त उक्त विमान राजधानी सन्तियागोबाट करिब एक हजार ८७३ किलोमिटर दक्षिणस्थित पुन्ता एरेनासबाट उडेको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलबार  १ : ३६ बजे