बढे सवारी दुर्घटना : ५ महिनामा १ हजार ३० को मृत्यु, ८ हजार घाइते

२०७६ मंसिर ३०, सोमबार १४:२०

काठमाडौँ — पछिल्लो समय सवारी दुर्घटनाका घटना बढेका छन् । ५ महिनायता मात्रै सडक दुर्घटनाका कारण १ हजार ३० जनाले ज्यान गुमाएका छन् भने करिब ८ हजार घाइते छन् ।

प्रहरीका अनुसार गत साउनदेखि शनिबारसम्म ७ हजार ५ सय ५ दुर्घटना भएका छन् । ती घटनामा ७ सय ४४ पुरुष, १ सय ९० महिला, ६० बालक र ३७ बालिका गरी १ हजार ३० जनाले ज्यान गुमाएका छन्। यी घटनामा घाइते भएकाको संख्या ७ हजार ९ सय ६१ जना छ।

सिन्धुपाल्चोकमा आइतबार भएको बस दुर्घटनासहित मंसिरमा मात्रै तीन ठूला दुर्घटना भए। देशभर पछिल्लो २८ दिनमा सवारी दुर्घटनामा २ सय ३० जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ । मंसिर १२ मा अर्घाखाँचीको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो। मंसिर १७ मा बाग्लुङको बडीगाड गाउँपालिकामा जिप दुर्घटना हुँदा १४ जनाले ज्यान गुमाएका थिए।

पछिल्लो ५ महिनामा १ हजार ३० सर्वसाधारणले ज्यान गुमाउँदा समेत सरकारले एउटा पनि छानबिन समिति गठन गरेको छैन। दुर्घटनाको कारण खोजी र यसको न्यूनीकरणका लागि सरोकारवाला निकायहरुले चासो देखाएका छैनन् ।

यातायात व्यवसायी र चालकलाई जिम्मेवार बनाउने गरी गत वर्ष नै तयार भएको सवारी तथा यातायातसम्बन्धी विधेयकको मस्यौदामाथि छलफल समेत अघि बढेको छैन।

गत वर्षको तथ्यांकअनुसार दैनिक ७ जनाले ज्यान गुमाउने गरेका छन् भने ४० जना घाइते हुने गरेका छन्। सरकारले दुर्घटनालाई सामान्य रूपमा लिने गरेको गुनासो बढेको छ ।

सम्बन्धित समाचार