२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

कांग्रेसमा नेविसंघ भागबन्डाको किचलो



काठमाडौँ— कांग्रेस सभापति शेरबहादुर देउवा ०७७ फागुनमा केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याउन तयार भए पनि केन्द्रीय विभाग, तरुण दल र नेविसंघको भागबन्डामा दुवै पक्षबीचको किचलो कायमै छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विभाग, तरुण दल र संघ गठनमा सम्मानजनक सहभागिताको मुद्दा उठाउँदै आएको छ। सबै विषयलाई टुंग्याएर बुधबारको केन्द्रीय कार्यसमिति बैठक सहमतिसाथ चलाउने गरी दुवै पक्षबाट प्रयास भइरहेको नेताहरू बताएका छन्।

देउवा र पाैडेल पक्षबीच नेविसंघमा कति जना महामन्त्री राख्ने भन्नेमा मुख्य विवाद छ। सभापति देउवा पक्ष चार जना महामन्त्री राख्नुपर्ने अडानमा छ भने पौडेल पक्ष एक जना मात्रै महामन्त्री हुनुपर्ने जिकिर गरिरहेको छ। देउवा पक्षले पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, उपसभापति विजयकुमार गच्छदार र आफ्नो समूहलाई समेत गरी चार महामन्त्रीको प्रस्ताव गरेको हो।

सहमतिका लागि पौडेल पक्षले पूर्वमहामन्त्री प्रकाशमान सिंहको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्द्र बडु र हृदयराम थानी सदस्य रहेको टोली गठन गरेका छन्। सभापति देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन्। दुवै पक्षबीच मंगलबार सिंह निवासमा भएको करिब दुई घण्टाको वार्ता भएको थियो । अन्य विषयमा करिब सहमति जुटे पनि संघ गठनमा कस्तो मोडल अपनाउने भन्नेमा दुवै पक्षबीच आ–आफ्नै दाबी छन्।

सहमतिका लागि मध्यस्थकर्ताको भूमिका खेलेका पूर्वमहामन्त्री सिटौलाले मंगलबार पौडेल पक्षीय वार्ता समितिका सदस्यहरूसँग छलफल गरेका थिए। उनी सभापति देउवा र पौडल पक्षले प्रस्तुत गरेको मोडलबीचबाट सहमति जुटाउने प्रयासमा लागेका छन्। देउवा पक्षले महामन्त्री नलिए अध्यक्षसहित बहुमत सदस्य लिएर पौडेल पक्षलाई मनाउनुपर्ने धारणा राखेका छन्।

पौडेल पक्षमा रहेका नेविसंघ र तरुण दलले मंगलबार छुट्टै भेला गरेका थिए। उनीहरूले सम्मानजनक सहभागिता निश्चित गरेर मात्रै संस्थापन पक्षसँग सहमति जुटाउन आफ्नो समूहका नेताहरूलाई दबाब दिएका छन्। दुवै पक्षबीच वार्ता चलिरहेका बेला तरुण दलको पार्टी महामन्त्री शशांक कोइराला निवासमा र नेविसंघको मध्यबानेश्वरस्थित एक पार्टी प्यालेसमा भेला भएको थियो। महामन्त्री कोइराला भने सहभागी थिएनन्।

केन्द्रीय नेताहरूको उपस्थितिमा भएका दुवै भेलाले दल र संघमध्ये एउटाको नेतृत्व संस्थापन इतरपक्षलाई दिनुपर्ने मुद्दा उठाएका थिए। नभए समानान्तर समिति बनाउने चेतावनी दिएका छन् । संस्थापन पक्षसँगको वार्तामा पनि पौडेल पक्षीय प्रतिनिधि टोलीले संघ र दलमध्ये एउटाको नेतृत्व आफूहरूले पाउनुपर्ने माग उठाउँदै आएको छ। पौडेल पक्षले नेविसंघ र तरुण दलको समेत तदर्थ समिति बनाउनुपर्ने माग गरेको छ।

सभापति देउवाले भने जितजंग बस्नेत नेतृत्वको दललाई महाधिवेशन गराउन थप ६ महिनाको समय दिने प्रस्ताव केन्द्रीय कार्यसमितिमा राखिसकेका छन्। बस्नेत नेतृत्वको दलको म्याद कात्तिकबाटै सकिएको हो। पार्टीभित्रको भागबन्डा नमिल्दा चार जना पदाधिकारीमै दलको कार्यसमिति सकिएपछि अहिले तदर्थ समिति बनाउने या यसैलाई थप ६ महिनाको समय दिने भन्नेमा विवाद छ। तदर्थ समिति गठन गर्ने भएपछि संघमा १ सय १ सदस्यीय कार्यसमिति नै बनाउनुपर्ने पौडेल पक्षले उठाएको छ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  १२ : २८ बजे