पर्सा– घरायसी विवादमा तरकारीमा विष हालेर खाँदा वीरगञ्जमा एक महिलाको मृत्यु भएको छ भने सोही परिवारका अन्य ५ जना सदस्य बिरामी भएका छन् ।
वीरगञ्ज–२४ बहुअरीका जगदिश कुर्मीकी श्रीमती ३४ बर्षकी राधिकादेवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
राधिकाका छोरा ३ वर्षीय करिमन भन्ने विवेक कुमार, उनका सौताका छोरा २० वर्षीय राकेश पटेल, १८ वर्षीय विकास पटेल र १७ वर्षीय विशाल पटेल र छोरी १६ वर्षीया मनिषा पटेल सिकिस्त छन् । उनीहरुको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
राधिका जगदीशकी दोस्री श्रीमती हुन् । १५ वर्ष पहिले जेठी श्रीमतीको मृत्यु भएपछि उनले राधिकासँग विहे गरेका थिए । सोमबार बिहान खाना पकाउने विषयमा राधिका र छोरी मनिषाबीच झगडाको भएको थियो । त्यही रिस फेर्न सोमबार राति खाना पकाउने क्रममा राधिकाले तरकारीमा अल्मुनियम फस्फेट नामक विषादी हालेकी थिइन् ।
विषादी हालेर पकाएको तरकारी परिवारका सदस्यलाई खुवाउनुको साथै राधिका आफूले समेत खाएकी थिइन् । परवानीपुरको कपडा उद्योगमा काम गर्ने जगदीश सोमबार राति उद्योगमै बसेका थिए ।
खाना खाएलगत्तै गम्भीर बिरामी परेका उनीहरुलाई उपचारका लागि सोमाबार राति वीगञ्जको तराई हस्पिटलमा लगिएको थियो । उपचारकै क्रममा राधिकादेवीको मृत्यु भएको तराई हस्पिटलले जनाएको छ । अन्यलाई तराई हस्पिटलमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि राति नै नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।