काठमाडौं – नेपालमा मोबाइल प्रयोग गर्नेको संख्या बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार मोबाइल सेवा लिनेको संख्या चार करोड ११ लाखभन्दा बढी छ। तीन करोड हाराहारी जनसंख्याले प्रयोग गर्ने टेलिफोन सेवा लिने प्रयोगकर्ताको तथ्यांक भने चार करोड २० लाख पुगेको छ।
प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार पिएसटिएन, डब्ल्यूएलएल, भिस्याट सेवा लिनेको संख्या करिब आठ लाख र स्याटेलाइट फोन सेवा लिनेको संख्या एक हजार सात सय ४२ छ। तथ्यांकले नेपालमा जनसंख्याको आधारमा टेलिफोन घनत्व १४२ प्रतिशत पुगेको देखाउँछ।
सबैभन्दा बढी ग्राहक नेपाल टेलिकमका रहेको तथ्यांकले देखाएको छ । टेलिकमका ग्राहक दुई करोड ३१ लाख ७० हजार छन् । निजी सेवा प्रदायक एनसेलका एक करोड ६६ लाख ६८ हजार ग्राहक छन्। स्मार्ट टेलिकमका २० लाख ७३ हजार ग्राहक पुगेको प्राधिकरणको तथ्यांक छ ।
तथ्यांक अनुसार कुल जनसंख्याको ६६ प्रतिशत इन्टरनेट प्रयोगकर्ता छन् । एक करोड ९५ लाख ४० हजार इन्टरनेटका प्रयोगकर्ता पुगेको तथ्यांक छ । एक करोड ५१ लाख ६३ हजार प्रयोगकर्ताले मोबाइल इन्टरनेट चलाउँछन् । ती मध्ये ८७ लाख ५४ हजार नेपाल टेलिकम, ६१ लाख ८१ हजार बजार एनसेलको र दुई लाख २७ हजार स्मार्टकf छन् । ४३ लाख बढी एडिएसएल, फाइबर लाइन, रेडियो वाइफाई र वाइम्याक्स छन्। फाइबर लाइन र रेडियो वाइफाईमा निजी इन्टरनेट सेवा प्रदायकको बजार ३२ लाख २५ हजार छ। नेपाल टेलिकमको एडिएसएलमा १० लाख १६ हजार, फाइबर लाइनमा करिब ४५ हजार र वाइम्याक्स ८९ हजार ग्राहक छन्।