२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

महाभियोग प्रक्रियाले संविधानको उल्लंघन : ट्रम्प



काठमाडौँ — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूविरुद्धको महाभियोगको प्रक्रियालाई विपक्षीको ‘कू’ को प्रयास भएको आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले डेमोक्रेटिक पार्टीकी वरिष्ठ नेता तथा तल्लो सदन ‘हाउस अफ् रिप्रिजेन्टेटिभ्स’ की सभामुख न्यान्सी पेलोसीलाई पत्र लेख्दै आफूविरुद्धको महाभियोग प्रक्रिया संविधानको उल्लंघन भएको बताएका छन्।

सभामुख पेलोसीलाई ६ पेजको पत्र लेख्दै राष्ट्रपति ट्रम्पले आफूविरुद्धको महाभियोग प्रक्रिया १७औँ शताब्दीमा जादुटुना गर्नेहरुमाथि गरिएको व्यवहारसँग तुलना गरेका छन्। सन् १६९२ देखि १६९३ को बीचमा झण्डै ९ सय जनालाई जादुटुनाको आरोपमा झुण्ड्याइएको थियो। यो ‘सलेम विच ट्रायल’ का नामले पनि परिचित छ।

‘कुनै पनि बौद्धिक व्यक्तिले तपाइँले लगाएको आरोपमा विश्वास गर्ने छैन’, ट्रम्पले पत्रमा भनेका छन्, ‘महाभियोग प्रक्रिया अगाडि बढाउँदै गर्दा इतिहासले तपाइँको कडा समीक्षा गर्नेछ।’ ट्रम्पले डेमोक्रेटिक पार्टीले अमेरिकी प्रजातन्त्रमाथि खुल्ला रुपमै आक्रमण गरेको आरोप लगाएका छन्।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  २ : ०० बजे