९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

अवैध रुपमा अमेरिकामा रहेका पाँच नेपालीलाई विमान चार्टर गरेर काठमाडौं पुर्‌याइयो



काठमाडौँ — अमेरिकी सरकारले देशनिकाला (डिपोर्ट)मा परेका ५ जना नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याएको छ।

अमेरिकाले अवैध बाटोहुँदै अमेरिका पुगेका ४ र भिसा म्याद सकिएर बसेका एक जनालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर नेपाल प्रहरीको जिम्मा लगाएको हो।

काठमाडौं आइपुगेकामध्ये ४ जना विभिन्न देश हुँदै मेक्सिको पुगेर अवैध रूपमा अमेरिका छिरेका थिए। एक जना विद्यार्थी भिसा म्याद सकिएका कारण डिपोर्टमा परेका हुन्। उनीहरु मध्ये रुकुमका एक, दाङका दुई, बाग्लुङ एक र नवलपरासीका एक जना छन् ।

अमेरिकी सरकारले उनीहरुलाई कम्तीमा दस वर्ष आउन नपाउने गरी देश निकाला गरेको हो। अमेरिकाले आफूहरूलाई पुर्‍याउन करिब ५ करोड रुपैयाँ खर्च गरेको उनीहरूले बताए।

अमेरिकाको इमिग्रेसन एन्ड कस्टम फोर्सका सैनिक अधिकारीसहित करिब १७ जनालाई लिएर अमेरिकाबाट उडेको विमान ५२ घण्टापछि बुधबार नेपाल पुगेको थियो।

नेपालीहरुसँगै डिपोर्ट गरिएका दुई पाकिस्तानीसमेत थिए। बुधबार बिहान ९ बजेतिर विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भनिए पनि मौसम अनुकूल नभएपछि पाकिस्तान पुगेको थियो।

एजेन्टलाई लाखाैं बुझाएर अमेरिका छिरेका उनीहरु एक वर्षभन्दा बढी समय अध्यागमनको नियन्त्रणमा बसेका थिए । एकजना भने २२ महिना अध्यागमन नियन्त्रणमा थिए।

अवैध रूपमा अमेरिका प्रवेश गरेकामध्ये सबैजसोले भारतको दिल्लीबाट रुस हुँदै स्पेन–बोलिभिया–इक्वेडर–कोलम्बिया–पानमा–कोस्टारिका–निकारागुवा–होन्डुरस–ग्वाटेमाला–मेक्सिको रुट प्रयोग गरेको पाइएको छ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  २ : ११ बजे