न्युयोर्क । तामाङ समाज अमेरिका र तामाङ सोसाइटी अफ न्युयोर्कबीच एकिकरणको लागि पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।
डिसेम्बर १८ मा न्युयोर्कमा पहिलो चरणको वार्ता सम्पन्न भएको हो । लुईसाङ वाईबा र ङिमा पाख्रिनको मध्यस्थकर्तामा दुई संस्थाहरुबीच सौहर्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको बताइएको छ । दिउँसो ३:३० बजेदेखि संचालित वार्ता साँझ ९:०० बजेसम्म चलेको निकट स्रोतले जनाएको छ ।
स्रोतका अनुसार तामाङ समाज अमेरिकाको तर्फबाट बुद्धिमान तामाङको संयोजकत्वमा विनिता तामाङ, रोजबहादुर घिसिङ, तुल बहादुर तामाङ र दिलमाया तामाङ सदस्य वार्ता समितिमा रहेका छन् भने तामाङ सोसाइटी अफ न्युयोर्कको तर्फबाट दिपेन्द्र लामाको संयोजकत्वमा लालमान तामाङ, छेमाङ लामा, निमा गोले र माया योन्जन सदस्य वार्ता समितिमा रहेका छन् ।
दुई संस्थाहरुबीचको आपसी विमतिहरुलाई सम्बोधन गरेर एकीकृत तामाङ समाज निर्माणको लागि उक्त वार्ता सकारात्मक रहेको र निकट भविष्यमा गरिने दोस्रो चरणको वार्तामार्फत संस्थालाई एकताबद्ध गर्न सकिने सम्भावनाहरु प्रचुर मात्रामा रहेको संयोजक बुध्दिमान तामाङले बताएको स्रोतले उल्लेख गरेको छ । त्यसैगरी अर्का वार्ता संयोजक दिपेन्द्र लामाले वार्ता उपलब्धिमुलक रहेको र अर्को चरणको वार्तामार्फत दुवै संस्थालाई एकीकरण गर्न सकिने विश्वास आफुमा जागेको बताएका छन् ।
मध्यस्थकर्ता लुईसाङ वाईबाका अनुसार दुबै पक्ष अत्यन्तै संयमित र जिम्मेवारीपूर्वक ढंगले प्रस्तुत हुँदै अधिकांश एजेन्डाहरुमा सहमत भएका छन् । केही एजेन्डाहरुमा भने थप संस्थागत अन्तरिक छलफल चलाइनुपर्ने आवश्यक देखिएकोले ती एजेन्डाहरुलाई दोस्रो वार्तामार्फत सम्बोधन गर्ने सहमति दुवै पक्षबीच भएको छ । दोस्रो चरणको वार्ता डिसेम्बर २१ तारिख शनिवार बस्ने सहमति भएको बताइएको छ ।