भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनले १४ राज्य अशान्त

२०७६ पुष ६, आईतवार १०:२१

काठमाडौं– नागरिकतासम्बन्धी नयाँ कानुनका कारण भारतमा पछिल्लो एक सातामा १४ राज्यमा विरोध प्रदर्शन जारी छ ।

भारत सरकारले नागरिकता सम्बन्धी कानुन संशोधन गरेर भारतमा शरण लिएर बस्दै आएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने निर्णय गरेको थियो । यसबाट मुस्लिम समुदायलाई विभेद भएको भन्दै सुरु भएको आन्दोलनका कारण एक दर्जन बढी नागरिकको ज्यान गइसकेको छ ।

हाल भारतमा केन्द्र शासित ९ सहित २८ प्रदेश छन् ।नागरिकता संशोधन विधेयकको हालसम्म नौ मुख्यमन्त्रीले विरोध जनाएका छन् । यी राज्यमा भारतको एक तिहाइ भूभाग र ३० प्रतिशत जनसंख्या छ ।

बिरोध प्रदर्शनको सुरुवात आसाम र पूर्वोत्तर राज्यबाट भएको थियो । त्यसपछि राजधानी दिल्लीको जामिया र उत्तर प्रदेशको अलिगढ मुस्लिम युनिभर्सिटीमा आन्दोलन सुरु भएको थियो । प्रहरीले आन्दोलनमा दमन गरेको भन्दै विस्तारै अन्य शिक्षण संस्थाहरुमा पनि प्रदर्शन हुन थाल्यो । पछिल्ला दिनहरुमा उत्तर प्रदेशका अलग-अलग शहरहरुमा हिंसात्मक आन्दोलन भइरहेको छ । बिहीबार बाम दल र मुस्लिम संगठनहरुले बन्द आह्वान गरेका थिए भने शुक्रबार पनि धेरै राज्यहरुमा हिंसात्मक प्रदर्शन भए । शनिबार आरजेडीले पनि बन्द आह्वान गरेको थियो ।

प्रदर्शनकारीले सवारी साधन, प्रहरी चौकी र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी गरेका छन् । आन्दोलनका कारण कतिपय राज्यमा निषेधाज्ञा लागू गरिएको छ भने इन्टरनेट सेवासमेत बन्द गराइएपछि जनजीवन प्रभावित भएको छ ।

सम्बन्धित समाचार