दैलेख— नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले अपहरण गरेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीको १८ घण्टापछि उद्धार गरिएको छ ।
कालीकोटको शुभकालिका गाउँपालिका–१ को जंगलबाट आइतबार साँझ ६ बजे उनलाई उद्धार गरिएको हो। शाही ठाँटीकाँध–२ स्थित आफ्नै घरबाट शनिबार राति अपहरणमा परेका थिए ।
कालीकोटको जंगलमा प्रहरीले तीनतिरबाट घेरा हालेपछि चन्द समूहका कार्यकर्ता शाहीलाई छाडेर भागेका थिए । प्रहरीले फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेकाले शाहीलाई उद्धार गर्न सहज भएको हो । अपहरणमा संलग्न चन्द समूहका कार्यकर्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो चन्द समूहले विज्ञप्ति निकालेर गाउँपालिकामा अनियमितता भएको भन्दै शाहीलाई सोधपुछका लागि लगेको जनाएको थियो।
शनिबार राति पटकपटक ढोका ढक्ढक्याएपछि एकैपटक १५/१६ जनाको समूह घरभित्र प्रवेश गरी अध्यक्ष शाहीलाई उठाएको उनकी श्रीमती इलाले बताइन्। समूहका एक जनाले सोधपुछ गर्नुछ फर्काइहाल्छौं भने पछि श्रीमती इला पनिसँगै गएकी थिइन् । श्रीमानसँगै गएकी उनलाई करिब दुई घण्टा हिँडाएपछि वडा नम्बर–२ को जंगलमा फर्काएका थिए । तपाईं नफर्के अध्यक्षलाई जे पनि हुनसक्छ भन्दै धम्काएपछि श्रीमानको मुख हेरेर फर्किएको उनले बताइन्।