६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

ओली–दाहालबीच बालुवाटारमा भेट, सभामुख चयन बारे छलफल



काठमाडौं– नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान भेटवार्ता भएको छ ।

आइतबार नेकपा स्थायी कमिटि बैठक सकिएलगत्तै सत्तारुढ दलको शीर्ष नेताहरु सभामुख र उपसभामुख छनोटमा केन्द्रीत भएका छन् ।

संसद सचिवालयले आगामी पुस ११ गते सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया सुरु गर्ने जनाइसकेको छ । दलहरुको सहमतिमा सोही दिन सभामुख उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने संसद सचिवालयको तयारी छ ।

अबको चार दिनभित्र दलहरुले सभामुख र उपसभामुखबारे निर्णय गर्नुपर्नेछ । नेकपाले सभामुखमा उम्मेदवारी दिनुअघि उपसभामुख शिवमाया तुम्बाहाङफेले भने राजीनामा दिनुपर्ने छ ।

नेकपामा सभामुखका लागि संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, उपसभामुख शिवमाया तुम्बाहाङ्फे र नेता अग्नि सापकोटाको चर्चा छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सभामुखका लागि नेम्वाङलाई र अर्का अध्यक्ष दाहालले सापकोटालाई छन् । उपसभामुख तुम्बाहाङ्फेलाई सभामुख बनाइनु पर्नेमा नेकपाकै केही महिला सांसद र राष्ट्रपति विद्यादेवी भण्डारीले आशय देखाएका छन् ।

दुई अध्यक्षको भेटमा नेकपा स्थायी कमिटि बैठकको समीक्षाबारे पनि कुराकानी भएको स्रोतले जनाएको छ । स्थायी कमिटिमा एमसीसीबारे उठेका प्रश्न र बैठकको निर्णयबारे ठोस धारणा बनाउने बारे समेत छलफल भएको बुझिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ६ : ०३ बजे