१४ आश्विन २०८०, आइतबार | Mon Oct 2 2023

बिहीबार खण्डग्रास सूर्यग्रहण, कुन राशिलाई के असर पर्छ ?



काठमाडौँ— बिहीबार खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ। काठमाडौं र कञ्चनपुरबाट चन्द्रमाले सूर्यलाई ३९ प्रतिशत र भद्रपुर झापाबाट ३६ प्रतिशत ग्रहणले ढाकेको देख्न सकिनेछ।

काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेटमा सुरु हुने ग्रहण पश्चिमी नेपालको महेन्द्रनगरबाट बिहान ८ बजेर ३८ मिनेटमा र पूर्वी नेपालको भद्रपुरमा बिहान ८ बजेर ४८ मिनेटमा सुरु हुनेछ।

काठमाडौंमा ग्रहण अवधि २ घण्टा ५० मिनेट, महेन्द्रनगरमा २ घण्टा ४१ मिनेट र झापामा २ घण्टा ५३ मिनेट रहनेछ ।

भारतको दक्षिणी भाग कर्नाटक, केरला र तमिलनाडुको केही खण्डबाट यसलाई बलयाकार सूर्यग्रहणका रूपमा देख्न सकिन्छ। भारतमा बलयाकार सूर्यग्रहणका बेला सूर्यको करिब ९३ प्रतिशत खण्ड चन्द्रमाले ढाकिनेछ। बलयाकार पथ साउदी अरबबाट सुरु भएर कतार, ओमान, संयुक्त अरब इमिरेट्स, भारतको दक्षिणी भाग, श्रीलंकाको उत्तरी भाग, मलेसिया, सिंगापुर, सुमात्रा, बोर्नियो हुँदै प्रशान्त महासागरको गुआम टापुमापुगेर अन्त हुने प्लानेटोरियमले जनाएको छ।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाया पृथ्वीमा पर्दा सूर्यग्रहण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात् खग्रास देखिन्छ। विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात् खण्डग्रास देखिन्छ।

बर्सेनि दुईदेखि पाँचपटकसम्म सूर्यग्रहण लाग्छ। पछिल्लो समय सन् १९३५ मा पाँचपटक सूर्यग्रहण लागेको थियो। अब सन् २२०६ को वर्षमात्र यो प्रक्रिया दोहोरिनेछ। सूर्यग्रहणलाई नांगो आँखाले हेर्दा दृष्टिमा क्षति पुग्ने विज्ञले चेतावनी दिएका छन्।

यस्तो छ धार्मिक मान्यता

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि देखि बालक, वृद्ध र रोगीबाहेकलाई शास्त्रीयरूपमा भोजन निषेध गरिएको छ। ग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण कामका लागि निषेध गरिएको छ ।

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न भने शुभ हुन्छ भन्ने शास्त्रीय मान्यता छ । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद्समेत रहेका गौतमले बताए । सुतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ ।

ग्रहण हेर्न कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुका लागि राम्रो छ । बाँकी राशिकालाई शुभ फल नदिने समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख गरिएको छ । मेष राशि हुनेलाई माननाश, वृषलाई कष्ट, मिथुनलाई स्त्रीपीडा, कर्कटलाई सौख्य, सिंहलाई चिन्ता, कन्यालाई व्यय, तुलालाई श्रीप्राप्ति, वृश्चिकलाई क्षति, धनुलाई घात, मकरलाई व्यय, कुम्भलाई लाभ र मीनलाई सुख प्राप्तिको फल प्राप्त हुने जनाइएको छ ।

शुभ फल मिल्ने राशि भएकालाई पनि सूर्यग्रहण प्रत्यक्ष आँखाले भने नहेर्न समितिले आह्वान गरेको छ । कुनै भाँडामा पानी राखेर वा सुरक्षित यन्त्रका माध्यमबाट सूर्यग्रहण हेर्न सकिने छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ४ : ५६ बजे