काठमाडौँ — साइबर अपराध र सीमापार अपराधको आशंकामा काठमाडौंबाट पक्राउ परेका १ सय २२ जना चिनियाँलाई लिन केही दिनभित्रै चीनबाटै चार्टर विमान आउने भएको छ।
गत साता पक्राउ परेका उनीहरूलाई फिर्ता लैजान बेइजिङबाटै चिनियाँ सुरक्षा फौजसहितको विशेष विमान आउन लागेको हो। उनीहरुलाई काठमाडौंको मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरबाट पक्राउ गरिएको थियो ।
पक्राउ परेकासँग लिखित बयानसँगै बरामद मोबाइल, ल्यापटप र राहदानी परीक्षणका लागि प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाइएको छ। त्यसको रिपोर्ट आउनेबित्तिकै उनीहरूलाई डिपोर्ट गर्ने प्रक्रिया थालिने छ । पुस ७ गते पक्राउ परेका सबै चिनियाँविरुद्ध प्रहरीमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
पछिल्लो अनुसन्धानअनुसार चिनियाँको अध्यागमन कानुन उल्लंघनबाहेक कुनै पनि अपराध भेटिएको छैन। प्रहरीले १ सय २२ जनालाई पक्राउ गरेकोमा ८४ जनाको राहदानी भेटिएको छैन भने ६७ वटा राहदानी बरामद गरिए पनि ३८ जना मात्रै राहदानीवाहक छन्। राहदानीवाहक सबै कानुनअनुसार नै पर्यटक भिसा लिएका चिनियाँ हुन्। उनीहरूलाई कुन कसुरमा डिपोर्ट गर्ने भन्नेमा प्रहरी अन्योलमा छ। चिनियाँलाई पक्राउ गर्न बेइजिङबाटै त्यहाँको प्रहरीको विशेष टोली काठमाडौं आएको थियो। उनीहरूकै सूचनाका आधारमा प्रहरीले शंकास्पद चिनियाँलाई पक्राउ गरेको थियो।
नेपालमा पक्राउ परेका व्यक्ति पनि सीमापार र साइबर अपराधमा संलग्न रहेको चीनको विदेश मन्त्रालयले पुस ८ गते जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।