काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सभामुखबारे टुङ्गो लगाउन बालुवाटारमा छलफल भएको छ ।
मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीलाई भेट्न अर्का अध्यक्ष दाहाल पुगेका हुन् ।
बुधबार प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा सभामुख निर्वाचन प्रकृया अघि बढाउने तयारी छ । त्यसअघि उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई पदबाट राजीनामा गराएर सभामुख र उपसभामुख दुवैमा निर्वाचन गर्ने योजनाअनुसार दुई अध्यक्षबीच छलफल भएको स्रोतको दाबी छ।
सभामुखका लागि प्रधानमन्त्री केपी ओलीपक्षले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, पूर्व माओवादी पक्षबाट अग्नि सापकोटा र हालकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेको नाम चर्चामा छ । नेम्वाङलाई ओली, सापकोटालाई दाहाल र तुम्वाहाङफेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुख उम्मेदवारका रुपमा अघि सारेका छन् ।
दुई अध्यक्षबीचको छलफलमा नाम टुङ्गिए पछि लगत्तै सचिवालय बैठकले सभामुखको उम्मेदवार सार्वजनिक गर्ने नेकपाको स्रोतले जनाएको छ ।