६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

एनसेलले बुझायो साढे ४ अर्ब कर



काठमाडौँ — एनसेलले पुँजीगत लाभकर किस्ताबन्दीमा बुझाउन थालेको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको २२ अर्ब ४४ करोड पुँजीगत करमध्ये कम्पनीले ४ अर्ब ५० करोड रुपैयाँ मंगलबार बुझाएको हो। बाँकी लाभकर बुझाउन एनसेलको अनुरोधअनुसार ठूला करदाता कार्यालयले किस्तामा तिर्ने सुविधा दिएको छ।

एनसेललाई यो आर्थिक वर्षभित्र बाँकी रकम तिर्ने सुविधा दिइएको छ । ठूला करदाता कार्यालयले एनसेललाई कर तिर्न १५ दिन म्याद दिँदै मंसिर २० गते पत्र पठाएको थियो। उक्त पत्रमा एनसेलले लाभांशबापत तिर्नुपर्ने कर २२ अर्ब ४४ करोड ५३ लाख निर्धारण गरिएको छ।

ठूला करदाता कार्यालयले दिएको १५ दिने समय सकिएपछि एनसेलले लाभकर तिरेको हो। समयभित्र उसले कर नबुझाएपछि ब्याज र जरिवानासहित एनसेलले बुझाउनुपर्ने रकम २२ अर्ब ६८ करोड पुगिसकेको छ।

मंगलबार बुझाएको रकम घटाएर त्यसको ब्याज र जरिवाना रकम अर्को किस्तामा बुझाउनुपर्ने ठूला करदाता कार्यालयले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १० : ५० बजे