काठमाडाैं– राष्ट्र बैंकले मोबाइल वालेटबाट हुने कारोबारमा सीमा बढाएको छ। भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका जारी गर्दै बैंक खाताबाट वालेटमा स्थानान्तरण हुने रकम प्रतिकारोबार ५ हजारबाट २५ हजार पुर्याइएको हो।
अब बैंक खाताबाट एकै पटक २५ हजार रुपैयाँसम्म मोबाइल वालेटमा ट्रान्सफर गर्न सकिनेछ। बैंक खाताबाट वालेटमा दैनिक १ लाख रुपैयाँसम्म र मासिक ५ लाखसम्म ट्रान्सफर गर्न सकिन्छ।
एक वालेटबाट अर्को वालेटमा प्रतिदिन २५ हजार र प्रतिमहिना ५० हजारसम्म पठाउन सकिनेगरी व्यवस्था गरिएको छ। एजेन्ट वा सबएजेन्टबाट एक दिनमा २५ हजार रुपैयाँसम्म वालेटमा पठाउन सकिनेछ। यसअघि यो सीमा १५ हजारको थियो।
त्यस्तै मोबाइल तथा इन्टरनेट बैंकिङबाट प्रतिदिन ५० हजार वा प्रतिमहिना अधिकतम २ लाख तथा इन्टरनेट बैंकिङ प्रतिदिन १० लाखसम्म गर्न सकिने व्यवस्था गरिएको छ। एटिएमबाट एक पटक २५ हजार रुपैयाँसम्म झिक्न पाइने यथावत राखेको भने दैनिक १ लाख रुपैयाँसम्म झिक्न पाइने व्यवस्था बनाइएको छ। केही समयदेखि एटीएमबाट दैनिक ६० हजारमात्रै झिक्ने सकिने व्यवस्था थियो ।
राष्ट्र बैंकले एटिएममा २४ सैं घण्टा सुरक्षा गार्ड राख्नुपर्ने व्यवस्थालाई पनि परिमार्जन गरेको छ। सुरक्षा गार्डको सट्टा २४ सै घण्टा मोनिटरिङ गर्नुपर्ने व्यवस्था गरेको हो।