४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

राष्ट्रियसभा निर्वाचनमा १८ पदका लागि ४५ को उम्मेदवार



काठमाडौं । राष्ट्रियसभा सदस्यको १८ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ । पुस ९ गते हुने निर्वाचनका लागि मुलुकका सातै प्रदेशमा आइतबार उम्मेदवारी मनोनयपत्र दर्ता गरिएको छ ।

बिहान १०ः०० देखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम सञ्चालन भएको थियो । आगामी फागुन २० मा दुईवर्षे कार्यकाल पूरा गर्ने नेकपाका ९, नेपाली काँग्रेसका ७, राजपाका २ र समाजवादी पार्टीका एक सदस्यको स्थानमा निर्वाचन हुन लागेको हो । निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य समूहबाट सात सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचन आयोगका अनुसार, प्रदेश नं १ मा महिला, दलित र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी परेको छ ।

प्रदेश नं २ मा महिला, दलित, अल्पसङ्ख्यक र अन्य समूहका एक/एक पदका लागि दुई/दुई जनाले उम्मेवारी दर्ता गराएका छन् । प्रदेश नं ३ मा महिला र अन्य समूहका एक/एक पदका लागि तीन/तीनको उम्मेदवारी मनोनयन पत्र दर्ता भएको छ ।

गण्डकी प्रदेशमा महिला र अन्य समूहका एक/एक पदका लागि महिलातर्फ दुई र अन्य समूहतर्फ तीन जनाले उम्मेदवारी दर्ता गरिएको छ । प्रदेश नं ५ मा महिला एक, अल्पसङ्ख्यक एक र अन्य समूहका एक/एक पदका लागि क्रमशः दुई, तीन र चार जनाको उम्मेदवारी परेको छ ।

कर्णाली प्रदेशमा रिक्त हुने महिला एक र अन्य समूहको एक पदका लागि दुई/दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश नं ७ मा महिला र अन्य समूहका एक/एक पदका लागि दुई दुई जनाको उम्मेदवारी परेको छ । उनान्साठी सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनेमध्ये एक सदस्य मनोनित गरिने छन् ।

राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुन् ।

प्रकाशित मिति : २० पुस २०७६, आइतबार  ८ : २० बजे