काठमाडौँ– काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका १२२ जना चिनियाँ नागरिकलाई फिर्ता पठाउन (डिपोर्ट) अध्यगमन विभागले प्रक्रिया सुरु गरेको छ ।
पक्राउ परेका मध्ये ९२ जनाको राहदानी नरहेको देखिएपछि अध्यगमनले चिनियाँ दूतावासलाई ट्राभल डकुमेन्ट बनाइदिन आग्रह गरेको छ ।
अध्यगमन विभागका अनुसार १२२ जना मध्ये ३० जनासँग मात्रै वैधानिक चिनियाँ राहदानी रहेको छ । अन्यसँग कुनै कागजपत्र नै छैन। विभागका अनुसार उनीहरुबाट बरामद गरिएको राहदानीको पनि जाँच भइरहेको छ।
अध्यगमनका अनुसार पक्राउ परेका चिनियाँहरुलाई लिन दुईवटा चार्टर विमान आउने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले पुस ७ गते मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मार्दा गिरोहका सदस्यहरू पक्राउ परेका थिए।
गैरकानुनी अनलाइन कारोबार, साइबर र सीमापार अपराधको आशंकामा पक्राउ परेका चिनियाँविरुद्धको कसुर पुष्टि नभएपछि स्थानीय प्रशासनले आइतबार ‘अभद्र व्यवहार’ मा जनही एक हजार रुपैयाँ जरिवाना गराएको थियो।
दुई साता लामो अनुसन्धानमा चिनियाँले अध्यागमन कानुन उल्लंघनबाहेक अर्को अपराध गरेको नभेटिएपछि अभद्रमा जरिवाना असुल गरेर उनीहरूलाई नेपालबाट चीन फिर्ता गर्नका लागि अध्यागमन विभागको जिम्मा लगाइएको हो।