- आङछिरिङ शेर्पा
न्युयोर्क । भर्खरै सुरु भएको नयाँ वर्ष २०२० अमेरिकावासी नेपालीहरुलाई तीन अभियानका लागि महत्वपूर्ण मानिने छ । मातृभूमिको पर्यटन विकासका लागि सुरु भएको भिजिट नेपाल २०२०, महिनौंदेखि निकै चासोको साथ लाग्दै आएको अमेरिकी जनगणना २०२० र नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचन २०२० ।
यी तीनमध्येमा भिजिट नेपाल विदेशमा बस्ने नेपालीले जति धेरै प्रचारप्रसार गर्न सक्यो त्यही नै हो राम्रो अभियान । तर, अमेरिकी जनगणना २०२० अमेरिकावासी नेपालीको लागि सुनौलो भविष्य निर्धारण गर्ने एक महत्वपूर्ण अवसर हो । हरेक १० वर्षमा हुने जनगणना यस पटक आगामी अप्रिल १ तारिखको आधारमा सुरु हुनेछ । महिना र वर्ष हुँदै दस वर्षभित्रमा अमेरिकामा धेरै नेपालीहरु बसोबास गर्दै आइरहेका छन् । तर यो देशलाई हामी नेपाली कति छौं भनेर तथ्याङ्क दिन सकेको छैन । जबसम्म हामीले हाम्रो वास्तविक तथ्याङ्क दिन सक्दैनौं तबसम्म यो देशबाट पाउनुपर्ने कतिपय सुविधा पाउन सक्दैनौं ।
अब अमेरिकामा नेपालीको भविष्यलाई ध्यान दिने हो भने सबैले यस पटकको जनगणनामा भाग लिएर नेपालीको सही तथ्याङ्क दिने प्रयासमा लागौं । दस वर्षअघि नेपालीको संख्या सोचेको भन्दा पनि अत्यन्तै थोरै देखियो । जतिखेर थोरैले फाराम भरे । तर अब यस पटक विगतको अनुभवलाई लिएर यसअघि भर्न नसकेकाहरुले भरेमा भविष्यमा यो राज्यबाट पाउने सबै सुविधा र अधिकार नेपालीले पनि पाउने छन् । आफु र भावी पुस्ताको भविष्यका लागि यो जनगणना एक सुनौलो र ऐतिहासिक अभियान हो । अमेरिकामा भएका नेपालीहरुले यो मौका गुमाएमा फेरि १० वर्ष कुर्नु पर्ने हुन्छ । दश वर्षअघिको जनगणनामा अहिले जतिका संस्थाहरु थिएनन् । अहिले भन्दा नेपालीहरु पनि कम थिए । सबैले जनगणनामा भाग नलिएका कारण सोचेभन्दा अति नै कम तथ्याङ्क आएको देखियो । जसले गर्दा हामी न्युयोर्कसिटीसामु अत्यन्तै थोरै जनसंख्या भएको समुदायको सूचीमा रहेका छौं ।
‘अमेरिकाको कानुनमा यो देशमा भएका सबैले जनगणनामा भाग लिनुपर्ने लेखिएकोले यस पटक सबै नेपालीहरुले जनगणनामा भाग लिनुपर्छ’ अमेरिकी सेन्सस ब्यूरोका पार्टनरसीप स्पासलिस्ट लोप्साङ ठिन्ले शेर्पाले भने, ‘यो पटक फारम भर्न सजिलो छ । अहिलेसम्मको इतिहासमा अनलाइन र फोनबाट पनि फाराम भर्न सकिने भएकोले सबैले भर्नु अति नै जरुरी छ ।’ यस्ता विकल्प दिएर पनि कसैले भरेन भने व्यक्तिहरुको घरघरमा सेन्सस ब्यूरोका कर्मचारीहरु ढोका ढक्काउन आउने उनले बताए ।
यो जनगणनामा व्यक्तिले दिएका हरेक विवरण सुरक्षित र गोप्य रुपमा राख्ने क्षमता सरकारसँग छ । सरकारको यदि कोही कर्मचारीले गोप्यता भंग गरेको खण्डमा सार्वजनिक कानुनको दफा १३ अनुरुपको ५ वर्ष संघीय सरकारको जेल वा २ लाख ५० हजार डलर जरिवाना हुन सक्छ वा दुवै हुन सक्छ । यो विवरण अमेरिकी सरकारले तथ्यांक उत्पादनका लागि मात्र प्रयोग गरिने छ । जनगणना सफल बनाउनका लागि अहिले सेन्सस ब्यूरोले अस्थायी कर्मचारीहरु खोजिरहेको छ । विशेषगरी स्थानीयवासी र अन्य भाषा बोल्नेलाई प्रथामिकता दिएको छ । उनका अनुसार जनगणना गर्ने अस्थायी कर्मचारीको तलबसमेत घण्टाको २८ डलर दिइरहेको छ ।
अमेरिकी जनगणना
हरेक १० वर्षमा अमेरिकामा बसोबास गर्ने हरेक व्यक्तिहरुको व्यक्तिगत विवरण अमेरिकी सरकारको सेन्सस ब्यूरोले विवरण राख्ने कार्यक्रम नै अमेरिकी जनगणना (यूएस सेन्सस) हो । यो अभियानले हरेकको व्यक्तिगत विवरण लिने गरिन्छ । जुन अत्यन्तै सुरक्षित हुन्छ । यो अमेरिकामा कागज भएको वा नभएको जो कसैले पनि जनगणनाबाट आएको फाराम भर्नु पर्छ । कतिपयको मनमा कागजपत्र छैन भनेर त्रास मान्नु यो विल्कुल गलत हो । हरेक १० वर्षमा हुने यो जनगणना सबैको लागि हो । सबैले भरेमा देश र जनता दुवैका लागि फाइदा हुनेछ । सरकारको सेन्सस ब्यूरोसँग राखिने व्यक्तिका व्यक्तिगत विवरण उनीसँगबाहेक कसैले राख्न त के, हेर्नसमेत पाउँदैन ।
यो किन महत्वपूर्ण छ ?
विभिन्न मुलुकबाट अमेरिकामा सुन्दर भविष्यको सपना लिएर आएकाहरु सबैले यो जनगणनामा सही तथ्याङ्क दिएमा त्यसैको आधारमा समुदायको भविष्य निर्धारण हुने छ । जनगणना भरेको संख्याको आधारमा समुदायलाई विभिन्न क्षेत्रमा राम्रो अवसर मिल्नुको साथै अमेरिकी मूलधारको राजनीतिमा समेत आफ्नो समुदायको प्रतिनिधित्व पठाउन राम्रो माध्यम हुनेछ । यसको साथै रोजगार, शिक्षा, स्वास्थ्य, आदि सबै क्षेत्रमा यो जनगणनाले महत्वपूर्ण भूमिका खेल्छ । अमेरिकी कंग्रेसले वर्षमा ६ सय ७५ विलियन डलरभन्दा बढी जनसंख्याका आधारमा बाँडफाँड गर्ने भएकोले यो धेरै महत्वपूर्ण छ । त्यस्तै जनगणनाकै तथ्याङ्कको आधारमा विद्यालय भवन, बाटो, अस्पताल र व्यवसायहरुमा व्यक्ति तथा समुदायको चाहनाका आधारमा बनाइन्छ । अझ विशेषगरी विभिन्न मुलुकबाट आएर अमेरिकामा बसेका आप्रवासीहरु जसलाई भाषाको समस्या छ त्यस्ता समुदायको संख्या बढी भएमा त्यही अनुसारको सुविधा र अनुवादक दिने लगायतका धेरै फाइदा हुने सेन्सस ब्यूरोले जनाएको छ । उदाहरणका लागि, अस्पताल र डिएमभिमा नेपाली भाषाको सुविधा पाइरहेका छौं ।
जनगणनाको लागि नेपाली समुदायलाई करिब दुई लाख डलर सहयोग
न्युयोर्कसिटी कम्प्लिट काउन्ट फन्डले यस पटकको जनगणनाका लागि न्युयोर्कसिटीले १९ मिलियन डलर खर्च गरेको छ । यो बजेटमा न्युयोर्कमा रहेका विभिन्न १ सय ३४ संस्थाहरुलाई जनगणनाको लागि सहयोग गरेका छन् । यसअन्तर्गत नेपाल समुदाय अन्तर्गत अधिकारले १ लाख २५ हजार र शेर्पा किदुगले ५० हजार डलर पाएका छन् । यो संस्थाहरुले कम्प्लिट काउन्ट कमिटी बनाएर जनगणनाको बारेमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका छन् । त्यस्तै छाया सीडीसीले १ लाख ७५ हजार पाएका छन् ।
१० वर्ष अघिको अमेरिकी जनगणनामा रिज्युउडमा स्वयंसेवकको अनुभव लिएका रिज्युउड निवासी दिपकराज काफ्ले भन्छन्, ‘यस अघिको जनगणनामा नेपालीको संख्या कम थियो । कतिपय कागजपत्र नभएकाहरु निकै त्रास मानेका थिए । त्यतिखेर धेरैजसोले अमेरिकी जनगणना यहाँको नागरिक भएकाहरुका लागि मात्र हो भन्ने गर्थ्यो । धेरै जना एकै घरमा बस्नेहरु भर्ने मेसो नभएर पनि धेरैले भरेका थिएन । तर अहिले पहिलाको तुलनामा पहिला नभर्नेहरुले पनि बुझिसकेका छन् । यो अवधिमा धेरै सिटिजन, ग्रिनकार्ड, हुनका साथै धेरै संख्या बढिसकेको छ । नेपाली समुदायको तर्फबाट यो जनगणना राष्ट्रिस्तरमा अधिकार, एनआरएन र जनसम्पर्कलगायत संस्थाहरुले कम्प्लिट काउन्ट कमिटी बनाएर पहिला भन्दा धेरैले भर्छ भन्ने लागेको छ । तर यस पटक पनि एकै घरमा धेरै बस्नेहरुको हकमा समस्या आउन सक्छ तर त्यो समाधानका लागि हामी लागीपरेका छौं । काफ्ले नेपाली समुदायका १७ विभिन्न संस्थाहरुको सम्मिलित कम्प्लिट काउन्ट कमिटीको संयोजक हुन् । उनका अनुसार यस पटकको जनगणनाको फाराम घरमुली र घरको सदस्यका लागि आएको दुबै फाराममा प्रश्न नम्बर फरक भए पनि दुबैमा जात नलेखिकन एसियन भन्ने अदर एसियन भन्ने खाली ठाउँमा नेपाली लेख्नु पर्ने बताउँछन् ।