२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

रिज्युउडमा दुर्गा मन्दिर र सांस्कृतिक भवन बन्ने



रिज्युउड । नेपालीको बाक्लो बस्तीको रुपमा चिनिने रिज्युउडमा दुर्गा मन्दिर र नेपाली सांस्कृतिक केन्द्रको भवन बन्ने भएको छ ।

रिज्युउड नेपाली सोसाइटीको वर्तमान कार्यसमितिले सन् २०२० भित्रमा दुर्गा मन्दिर र सांस्कृतिक केन्द्रको भवन निर्माण गर्ने जनाएको हो । रिज्युउडमा मन्दिर र सांस्कृतिक भवन बनाउने योजना करिब १२ वर्षअघि नै थालिएको थियो । उक्त योजनाका लागि रकम संकलन र जग्गा किन्ने काम भए पनि मन्दिर र भवन निर्माण थालनी भएको थिएन ।

‘हामीले लामो समयदेखिन सोच्दै आएको योजना अब यो वर्षभित्रमा पूरा गर्ने लक्ष्य लिएका छौ’, रिज्युउड नेपाली सोसाइटीका महासचिव दिपकराज काफ्लेले एभरेस्ट टाइम्सलाई भने, ‘मन्दिरको लागि जग्गा खरिद गरिसकेपछि दुई पटक महापुराण लगाएँ तर समयमा रकम संकलन हुन नसकेकोले ढिलाइ भएको हो ।’ उनका अनुसार मन्दिर निर्माणका लागि जम्मा भएको ८ लाख डलरमध्ये जग्गा खरिद, आर्किटेक्टलाई दिइएको छ । महापुराणमा भएको खर्च कटाएर अझै २ लाखभन्दा बढी रकम खातामा रहेको महासचवि काफ्ले जानकारी दिए ।

‘मन्दिरको लागि दिन्छु भन्नेहरुबाट करिब १४ लाख उठन बाँकी रहेको र नपुग रकम बैकबाट ऋण लिने र अन्य दाताहरु र सम्भावित दाताहरुलाई सम्पर्क गरी यो वर्षको जुनभित्रमा भवन निर्माण कार्यमा लाग्ने हाम्रो योजना छ,’ महासचिव काफ्लेले भने ।

समाजले सन् २०११ मा खरिद गरेको रिज्युउडको १६४७ स्ट्रिटमा रहेको उक्त जग्गामा मन्दिर र सांस्कृतिक भवन बनाउन लागेको हो । लगभग ८ हजार ३ सय पचास वर्ग स्वाएर फिट क्षेत्रफलमा रहेको जग्गामा बेसमेन्टसहित चार तलाको भवनमा निर्माणका लागि भवन निर्माणमा झन्डै २० लाख डलर लाग्ने अनुमान रहेको महासचिव काफ्ले बताए ।

‘रिज्युउडमा दुर्गा मन्दिर तथा नेपाली सांस्कृतिक केन्द्रको भवनको नक्सा पास भइसकेको हुँदा अब निर्माण प्रक्रिया अगाडि बढाएकोले सबै चन्दादाताहरूले आफूले प्रतिबद्धता गरेको रकम समयमा नै हस्तान्तरण गर्ने समेत हार्दिक अनुरोध गर्न चाहन्छु’ समाजका अध्यक्ष राजेश भट्टले भने । उनका अनुसार कबुल गरेको रकम अबको छ महिनाभित्र संकल्न गर्नेका लागि विभिन्न समितिहरू बनाएर सम्बन्धित व्यक्तिहरूको घर घरमा गई तदारुकताका साथ लागीपर्ने समेत बताए ।

समाजले यसअघि न्युयोर्कमा गरेको दुई वटा महापुराणहरुमा ९ सय ९६ जना दानकर्ताहरुमा १२ जनाले ३० हजारभन्दा माथिको रकम दान गर्ने वचन दिएका थिए भने १ सय ८० जनाले ५ हजार डलरभन्दा माथि दान गर्ने कबुल गरेका थिए । अधिकांश दाताहरुले छिट्टै मन्दिर बन्ने खबर सुनेपछि उत्सुकताका साथ बाँकी दान रकम दिन थालेको समाजले जनाएको छ ।

 

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ६ : ३० बजे