९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

युवकले अन्धाधुन्ध खुर्पा प्रहार गर्दा दुई प्रहरीसहित चार घाइते



भक्तपुर– भक्तपुर नगरपालिका–१० स्थित पाइपलाइन र दोकोचामा एक व्यक्तिको खुर्पा प्रहारबाट दुई प्रहरीसहित चारजना घाइते भएका छन् ।

जाजरकोटको नलगाढ नगरपालिका–१ का २० वर्षीय रामबहादुर विकले शनिबार साँझ खुर्पा प्रहार गर्दै हिँड्दा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–१० घर भई हाल भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ६० वर्षीया भुनामाया थापा र भक्तपुर नगरपालिका–१० कमलविनायक बस्ने ४५ वर्षीया राजमती ज्याकिबन्जार घाइते भएका छन् ।

त्यसैगरी महानगरीय प्रहरी प्रभाग व्यासीमा कार्यरत प्रहरी हबल्दार जितेन्द्रप्रसाद यादव र प्रहरी जवान टोलबहादुर श्रेष्ठसमेत खुर्पा प्रहारबाट घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

खुर्पा प्रहार गरी भाग्दै गरेका विकलाई दोकोचामा प्रहरीले नियन्त्रणमा लिने क्रममा खुर्पा प्रहार गर्दा बा२झ १८५ नंको प्रहरीको सिआरभी भ्यानको सिसा फुट्नाका साथै सञ्चार सेटमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

घाइते थापाको मध्यपुर अस्पतालबाट थप उपचारका लागि छाउनीस्थित सैनिक अस्पतालमा पठाएपछि त्यहाँ उपचार भइरहेको र ज्याकिबन्जारको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ। विकलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  १ : ५७ बजे