९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

ओली र दाहालबीच सभामुख तानातानले प्रतिनिधिसभा बैठक फेरि सर्‌यो



काठमाडौँ — आइतबारका लागि बोलाइएको संघीय संसद अर्न्तगत प्रतिनिधिसभाको बैठक माघ ६ सम्मका लागि स्थगित गरिएको छ । सत्तारुढ नेकपाले उम्मेदवार टुंगो लगाउन नसकेपछि स‌ंसद् बैठक स्थगित गरिएको हो।

बैठक यसअघि पनि दुईपटक सूचना टाँस गरेर स्थगित गरिएको थियो। पुस ११, पुस १६ हुँदै पुस २७ लाई राखिएको बैठक पनि नबसेरै माघ ६ सम्मलाई स्थगित गरिएको हो ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजनीनामा दिन नेकपाले निर्देशन दिए पनि उनले राजीनामा दिन अस्वीकार गरेकी छन् । नेकपाका केही नेताहरुले उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नगर्दा नेकपालाई सभामखुको उम्मेदवार छनोट गर्न समस्या भएको बताउँदै आएका छन् । सोही अनुसार शनिबार बसेको नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्वाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर नेकपाको निर्देशनलाई उनले अस्वीकार गरेकी छन् ।

यसैबीच सभामुख चयन प्रकृया जटिल बन्दै गएपछि नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आइतबार बालुवाटारमा छलफल भएको छ । छलफलमा उपसभामुख शिवमायालाई समेत बालुवाटार बोलाएर ओली र दाहालले आइतबारको बैठक स्थगित गर्न निर्देशन दिएका थिए ।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने मतभेद छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई सभामुखको उम्मेदवार बनाउने योजनामा छन् भने दाहाल अग्नि सापकोटा वा पम्पा भुषालमध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् । दुवै नेताले आ–आफ्नो अडान नछाड्दा सभामुख चयन प्रकृया अन्यौलमा परेको छ । संविधान अनुसार सभामुख र उपसभामुख पद फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : २७ पुस २०७६, आइतबार  २ : ३५ बजे