७ असार २०८२, शनिबार | Sun Jun 22 2025

बलात्कार आरोपमा पास्टर पक्राउ



काठमाडाैं–  महिलालाई जबरजस्ती करणी गरेको जाहेरी परेपछि प्रहरीले एक पास्टरलाई पक्राउ गरेको छ।

सोमबार साँझ ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जोशीमाथि तीन महिनादेखि एक महिलालाई जबरजस्ती करणी गर्दै आएको आरोप छ। खुट्टा काम्ने रोगबाट पीडित ती महिलालाई निको बनाइदिने भन्दै जोशीले करणी गरेका थिए। उनी रोग निको हुने भन्दै प्रार्थनाका लागि चर्चमा जाने गर्थिन्।

ती महिलाको उजुरीमा जोशीले चापागाउँको एक गेष्ट हाउसमा बोलाएर जबरजस्ती करणी गरेको उल्लेख छ। करणी गरेको कसैलाई भने परमेश्वरले दिएको शक्ति नाश भई जाने त्रास जोशीले ती महिलालाई देखाउँदै आएका थिए।

पछिल्लो पटक जोशीले आफूले सञ्चालन गर्दै आएको पसलमा पुगेर जबरजस्ती गरेको ती महिलाले उल्लेख गरेकी छन्। गोरखा बजार घर भएका जोशी घरमा भने केही वर्षदेखि सम्पर्कविहीन थिए। जोशीलाई मंगलबार म्याद थप गरी अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०७६, मंगलबार  ३ : ३३ बजे