काठमाडौँ — आज माघ १ अर्थात् माघे संक्रान्ति । मुलुकभर विभिन्न कार्यक्रम गरी माघे संक्रान्ति मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् ।
उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा आज नरहरी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन आज मिठा परिकार खाने चलन छ । आजका दिन जलाशयमा स्ना गरी पूजाआजा गर्ने र आफन्त भेला भएर खानपिन तथा रमाइलो गर्ने परम्परा छ ।
थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन्। माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडा कहाँ गएर आशीर्वाद लिने परम्परा थारु समुदायको छ ।
बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेहरुले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ ।
कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ । तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी जम्मा छ प्रकारले तिलको प्रयोग यस दिन जसले गर्छ त्यो असफल हुँदैन भन्ने विश्वास थारु समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत छ ।
गाउँका मुखिया सबै मिलेर छनोट गर्ने चलन छ । यस पर्वका अवसरमा महतो, गुरुबा, पूजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने आदि सबै पदवीको आजै लोकतान्त्रिक विधिबाट निर्वाचन हुने गरेको छ।
धेरै ठाउँमा माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि मुखियालगायत वर्षभर काम गर्ने पदको छनौट गर्छन् । सहमति नहुने स्थानमा भने निर्वाचन नै हुन्छ । थारु जातिमा यस दिन गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई माघी देवानी भनिन्छ ।
विशेषगरी तराईका थारुले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई खिचडी भन्ने चलन पनि छ । थारु समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँसराईका लागि माघीका समयमा साइत हेर्न नपर्ने चलन पनि थारु समुदायमा छ ।
सरकारले विसं २०७२ साउन २ गते निर्णय गरेर कमैया प्रथा उन्मूलन गरी त्यसै वर्ष माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रुपमा समेत मनाइन्छ ।
तराईवासीले माघ १ लाई नहान अर्थात नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउने तराईवासीले आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए ।
उत्तरायण भएपछि शुभकर्म गर्न उत्तम मानिन्छ । आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनकामना पूर्ण हुने जन विश्वास छ । माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा तातो परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेका थिए । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थानमा पनि मेला लाग्ने गर्दछ ।
माघ महिनामा माघ माहात्म्यको पनि ठूलो महत्व छ । स्कन्द पुराणको माघ माहात्म्यअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि नै शुरु भइसकेको छ । यो क्रम माघ शुक्ल पूर्णिमासम्म जारी रहन्छ ।
प्राचीन मिथिलामा ‘तिला सङ्क्रान्ति’ पर्व पनि भन्ने गरिन्छ । यस अवसरमा पवित्र नदी र तलाउँमा स्नानका गरी खिचडी, अन्न, नयाँ वस्त्र र नगद दान गरेमा पुण्य प्राप्तिका साथै सूर्यदेव प्रसन्न हुने धार्मिक विश्वास रहेको छ । सो धार्मिक महत्वको आधारमा जनकपुरको गङ्गासागर, धनुषसागरलगायत पवित्र जलाशयमा बिहानैदेखि सयौँको सङ्ख्यामा धर्मालम्बीहरु स्नान गरी विभिन्न मन्दिरमा धार्मिक विधिपूर्वक पूजापाठ गरी पर्व मनाइरहेका छन् ।
यस पर्वको पहिचानको रुपमा खिचडी, दाल, तिलको लड्डु र शख्खर रहेको छ । अनिवार्य रुपमा तिलको लड्डुलगायतका परिकार तयार गरिएपनि कतिपय समुदायमा खिचडीको सट्टा दही च्युरा खाने गरिन्छ । यो पर्व उत्साहसँग जोडिएको कारणले आजका दिन चङ्गा उडाउने गरिन्छ । हुन त विगतका वर्षका तुलनामा चङ्गा उडाउने मनोरञ्जनात्मक खेल क्रमिक रुपमा घट्दै गइरहेको देखिन्छ ।
मकर सङ्क्रान्तिमा खिचडीको महत्व
मकर सङ्क्रान्तिका दिन खिचडी खानुको मुख्य कारणको रुपमा ग्रहहरुको स्थितिलाई बलियो बनाउनुरहेको विश्वास गरिन्छ । पौराणिक कथानुसार, खिचडी बनाउने सामग्रीमा चामल चन्द्रमा, कालो दाल शनि, हरियो तरकारी बुध, हल्दी वृहस्पति र नून शुक्र ग्रहको प्रतीक हो ।
यी सामग्रीहरु मिश्रण गरी तयार पारिएको खिचडी खाएमा सबै ग्रहहरु शान्त हुन्छ । घरमा शान्ति र समृद्धि आउने र ग्रहहरु बलियो हुने धार्मिक विश्वास रहेको छ । अर्को कथानुसार, मकर सङ्क्रान्तिका दिन खिचडी खाने परम्परा बाबा गोरखनाथले शुभारम्भ गरिएको उल्लेख गरिएको देखिन्छ । हिन्दू धर्ममा उत्तरायण सूर्यको आफ्नै विशिष्ठ महत्व रहेको छ । यसको महत्व द्वापर युगमा सम्पन्न महाभारत युद्धमा गम्भीर घाइते भएका भीष्म पितामहको इच्छा मृत्युको समय अवधिसँग जोडिएर देख्न सकिन्छ ।
इच्छा मृत्युको बरदान पाउनु भएका भीष्म पितामह महाभारतको युद्धमा गम्भीर घाइते भई मृत्यु शै्या रहनुभएका उहाँ सूर्य उत्तरायणमा पुगेपछि माघ अष्टमीको दिन स्वेच्छाले प्राण त्याग गर्नुभएका थिए । तसर्थ, हिन्दूधर्ममा सूर्यउत्तरायणको अवधिमा प्राण त्याग हुनु उत्तम मानिएको छ । सोही कारणले आज पितृलाई प्रसन्न गर्न तिल र जलले अघर््य एवं तर्पन गर्ने गरिन्छ ।
आज सन्तानलाई शपथ खुवाइन्छ
मिथिलावासीले आज यस पर्वको अवसरमा आफ्ना सन्तानलाई शपथ खुवाएर पर्व मनाउने गर्छन् । घरमा देवीदेउताको पूजापाठ गरेपछि तिल र शख्खर मिश्रित प्रसाद खुवाउने क्रममा सन्तानसँग बचन लिने गरिन्छ । बुढेसकालमा ‘सेवा गर्ने कि नगर्ने’ भनेर मातापिताले सोध्ने गर्छन् । सन्तानले सेवा गर्ने, आज्ञाको पालना गर्ने बचन दिएपछि सो प्रसाद मातापिताले सन्तानलाई खुवाउने गर्छन् । प्रसाद ग्रहण गरेपछि सन्तानले आमाबुबालाई ढोगेर आर्शीवाद लिने गर्छन् । यसका साथै, आजका दिनमा अर्काको तिल खाएमा उनको सेवा गर्नुपर्ने भनाइका कारण कतिपयले अरुले दिएको तिलको लड्डु नखाने गरेको देखिन्छ ।