१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कांग्रेसले सूचना प्रविधि विधेयकविरुद्ध ७७ जिल्लाबाट विरोधपत्र बुझायो



काठमाडौँ — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा गठन र सञ्चालन सम्बन्धी कानुन विरुद्ध देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत् आइतबार सरकारलाई विरोधपत्र बुझाएको छ ।

७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् कांग्रेसले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने खालका प्रावधान राखिएकाले विधेयक सच्याउन माग गर्दै सरकारलाई विरोधपत्र बुझाएको हो । काठमाडौं जिल्ला कार्यसमितिले आइतबार दिउँसो माइतिघर मण्डलामा जम्मा भएर र्‍यालीसहित विरोधपत्र बुझाएको छ।

पुस १७ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सूचना प्रविधि विधेयक तथा नेपाल विशेष सेवा गठन र सञ्चालनसम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले संविधानप्रदत्त नागरिक अधिकार हनन हुने निष्कर्ष निकाल्दै ७७ जिल्ला प्रशासन कार्यालयमार्फत सच्याउन माग गर्दै पुस २८ गते सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो। केन्द्रीय कार्यसमितिले तय गरेको मितिमा विरोध पत्र बुझाउन असम्भव भएपछि शुक्रबार बसेको संसदीय दलको बैठकले आइतबार बुझाउने निर्णय गरेको थियो।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ५ : ०१ बजे