काठमाडाैं– नेपालमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह हुनुपर्ने भएको छ । रेल्वे सेवा सञ्चालनका लागि सरकारले ल्याएको रेल्वे विधेयकमा रेल चालक र सहचालकको शैक्षिक योग्यता कम्तीमा माध्यामिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख गरिएको हो ।
विधेयकको दफा २३ उपदफा १ को (क) मा कम्तीमा माध्यमिक तह (दश जोड दुई) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने उल्लेख छ ।
त्यस्तै, नेपाल रेल्वे बोर्डबाट मान्यताप्राप्त प्रशिक्षण संस्थाबाट रेल चालउन योग्य भएको प्रमाणपत्र प्राप्त गरेको, रेल चालकको हकमा कम्तीमा पाँच वर्ष सहचालकका रुपमा काम गरेको योग्यता तोकिएको छ ।
विधेयकमा चालक र सहचालक दुवैको न्यूनतम र अधिकतम उमेरसमेत उल्लेख गरिएको छ । चालकका लागि २५ वर्ष र सहचालकका लागि २० वर्ष पुग्नुपर्ने तथा ५० वर्ष नपुगेको हुनुपर्ने विधेयकमा उल्लेख छ । कुनै पनि व्यक्तिले अनुमति नलिइ रेल चलाउन पाइँदैन । अनुमतिबिना चलाएमा छ महिनासम्म कैद र ५० हजारसम्म कैद हुनेछ ।
रेल चालक वा सहचालक अनुमतिपत्र अरुलाई दिँदा पनि छ महिनासम्म कैद र ५० हजारसम्म जरिवाना हुनेछ ।
उक्त विधेयक अहिले राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा पठाउने तयारी भइरहेको छ । विधेयकले रेलको र यात्रुको सुरक्षाका विषयमा पनि उल्लेख गरेको छ । रेल यात्राका क्रममा यात्रुलाई क्षति पुग्दा त्यसको क्षतिपूर्तिको व्यवस्थासमेत विधेयकमा समेटिएको छ । रेलको सुरक्षाका लागि प्रहरी एकाइको व्यवस्था गर्न सकिने पनि विधेयकमा छ ।
माघ तेस्रो साताबाट जयननगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालनमा आउने करिब निश्चित भए पनि कर्मचारीको भने टुंगो लागेको छैन। दुई सय कर्मचारी माग गरिए पनि भर्ना प्रक्रिया सुरु हुन सकेको छैन। रेल विभागले भने कर्मचारी भर्ना नगरे पनि रेल सञ्चालनमा समस्या नहुने बताएको छ। करारमा भारतबाट कर्मचारी राखेर भए पनि रेल सञ्चालन ल्याउने विभागको तयारी छ ।
भारतमा दुई वटा रेल सेट बनिसकेका छन् । तिनलाई ल्याउन मात्र बाँकी छ। रेल सेट खरिदका लागि ८४ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ। रेलको एक सेटमा पाँच डिब्बा रहनेछन्। दुई सेट रेलमा गरी एकपटकमा दुई हजार पाँच सय जनाले यात्रा गर्न सकिने विभागले जनाएको छ ।
जयनगर, इनरुवा, खजुरी, मैनाथपुर, बैदेही, पर्वा, जनकपुर, कुर्था, प्रिपाडी, बिजलपुरासम्ममा कर्मचारी चाहिन्छन्। पहिलो चरणमा जयननगर–जनकपुर–कुर्थासम्मको दूरी ३५ किमिको काम सकिसकेको छ। कुर्थादेखि बिजलपुरासम्मको दूरी १७ किमि र बिजलापुरदेखि बर्दिबाससम्म पनि १७ किमि दूरी छ। जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्ने भएको छ ।