१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एनआरएनए र नेचुरोपेथी अस्पतालबीच सहकार्य



काठमाडौँ– बसुन्धरास्थित काठमाडौँं नेचुरोपेथी अस्पताल गैरआवासीय नेपाली सङ्घ अन्तरराष्ट्रिय समन्वय परिषद्बीच गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ ।

परिषद्को काठमाडौँको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार भएको सम्झौतमा सङ्घका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच हस्तक्षर सम्पन्न भएको हो । सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि श्ययामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिने उल्लेख छ ।

कार्यक्रममा एनआरएनएका अध्यक्ष कुमार पन्त र अस्पतालका मेडिकल निर्देशक डा यञ्जन गैह्रेलगायतको उपस्थिति थियो । यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली सङ्घका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए ।

अत्याधुनिक सेवासुविधासहित काठमाडौँको बसुन्धारामा स्थापित काठमाडौँ नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिको माध्यमबाट विनाशल्यक्रिया र विनाऔषधि नै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधिविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।

अस्पतालका मेडिकल निर्देशक डा यञ्जन गैह्रेका अनुसार अस्पतालमा विशेषगरी दीर्घकालीन रोगहरु कम्मर, गर्दन तथा घुँडा दुखाइ, प्यारालाइसिस, नशा च्यापिने तथा नशासम्बन्धी समस्या, बाथ, हड्डी खिइँने तथा हाडजोर्नीसम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।

अन्तरङ्ग सेवा, बहिरङ्ग सेवा, ल्याब, भीआइपी आवासकक्ष रहेको काठमाडौँ नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालले जनाएको छ । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक सञ्चालन गरेको छ ।

प्रकाशित मिति : ९ माघ २०७६, बिहिबार  १० : ५६ बजे