७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मुलुक बचाउन कांग्रेस बीपीकै बाटोमा हिड्नुपर्छ ।


Ang

११ माघ २०७६, शनिबार  

0
Shares

सन्तलाल रिसाल
नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको बाटोमा नहिड्दा आज कांग्रेस अन्योलग्रस्त छ । कांग्रेस कमजोर हुदा राष्ट्रनै कमजोर, लोकतन्त्र नै कमजोर अवस्थामा पुगेको छ । कांग्रेसको अहिलेका नेताहरु एकआपसमा मिल्न सकेनन् । बीपीको विचारलाई आत्मसात् गर्न सकेनन् । राजा हटाउनु कांग्रेसको सबैभन्दा ठूलो गल्ती थियो । राजा हटाएपछि नेपालमा कम्युनिस्टको प्रभाव बढेको हो । अहिलेको केपी ओलीको बहुमतको कम्युनिस्ट सरकारले मुलुकलाई अधिनायकवादतिर लैजादै छ । मुलुकको अवस्था झन् झन् कमजोर बन्दै छ । राजा र कांग्रेस मिलेमात्र लोकतन्त्र बलियो हुन्छ, राष्ट्र बलियो हुन्छ भन्ने बीपीको मान्यतालाई कांग्रेसले आत्मसात् गर्न सकेन । राजा फालेर कांग्रेसले ऐतिहासिक गल्ती गरे । अब कांग्रेसले आफ्नो गल्ती सच्च्याएर राजतन्त्र पुनस्र्थापना गरी राजासाग मिल्नुको विकल्प छैन नत्र नेपालमा कम्युनिस्ट अधिनायकवादी शासनलाई कसैले रोक्न सक्दैन ।नेपालमा कम्युनिस्ट शासन नआओस् भन्ने विश्वका प्रजातन्त्रवादी मुलुकहरुको चाहना छ । त्यसका लागि कांग्रेसले अब नया ढंगले सोच्नुपर्छ । कांग्रेस नमिलेकै कारण कम्युनिस्टले बहुमत ल्याएको हो । कांग्रेसका नेताहरु एकापसमा मिल्न सकेनन् जसको फाइदा कम्युनिस्टहरुले लिए ।

करिब दुई तिहाइ नजिक रहेको कम्युनिस्ट सरकारले एक पछि अर्को गर्दै जनताका अधिकारमाथि अंकुश लगाउने प्रयास गर्दैछ । कांग्रेस अब चुप लागेर बस्न हुदैन । संगठनको सिद्धान्त र नेताको आचरण मिलेन भने विसंगति र विकृति बढ्छ । कांग्रेसमा केही वर्षयता देखिएको भद्रगोलले यसको पुष्टि गरेको छ । अल्पमत पक्षले पार्टी महाधिवेशनको मिति ढिलो तय गरिएको र क्रियाशील सदस्यता सम्बन्धी विधानका धारा निलम्बन गर्ने केन्द्रीय समितिको बहुमतको निर्णय विधानको मर्मविपरीत रहेको भन्दै असहमति प्रकट गरेको छ । कांग्रेस केन्द्रीय समितिले पार्टीको आगामी महाधिवेशन २०७७ साल फागुन ७ गते बोलाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिको पदावधि यही फागुनमा समाप्त हुन्छ । महाधिवेशन त्यसअगावै गरिसक्नुपर्ने थियो । अहिले महाधिवेशनको मिति ढिलो तोकियो भन्नेहरूले पनि बेला छदै दबाबदिएनन् । उनीहरूको ध्यान भागबन्डामा सीमित भयो । मिति तोकिने बेलामा उनीहरूले केन्द्रीय समिति बैठक बहिष्कार गरे । आफनो कब्जामा नहुने हो भने पार्टी नै नरहोस् भने जसरी सभापति देउवाले अर्को पक्षमात्र होइन पार्टी नै अक्करमा पर्ने गरी मिति तोके । उनले बेला बित्ने जोखिम हुनेगरी महाधिवेशनको मिति मात्र तोकेनन् संगठनको सबैभन्दा महत्वपूर्ण क्रियाशील सदस्यतामा पनि कब्जा जमाउन सजिलो हुनेगरी विधानका धारा निलम्बन गर्ने निर्णय गरे । देशको सबैभन्दा पुरानो लोकतन्त्रवादी पार्टी भए पनि कांग्रेसका नेताले केही वर्षयता पार्टीलाई विधिसम्मत लोकतान्त्रिक पद्धतिमा सञ्चालन गर्न सकेका छैनन् । दलको विधान, लोकतान्त्रिक मूल्य,राष्ट्रिय हित र जनभावना कुनै पनि आदर्श कांग्रेस सञ्चालनका आधार बनेका छैनन् ।

केही नेताहरूको तजबिजी सहमति र स्वार्थ अनुसार भागबन्डा गरेर पार्टी चलाइएको छ । अहिलेको विवाद पनि सिद्धान्त वा मूल्य मान्यताका लागि होइन । पार्टी रसातलमा पुग्न लागेको छ । देशमा लोकतान्त्रिक पद्धति नै संकटमा पर्दै गएको छ । नागरिक स्वतन्त्रतामा कम्युनिस्ट सरकारले एकपछि अर्को प्रहार गर्दैछ । कांग्रेसका सभापति पक्षका नेताहरू भने असन्तुष्ट पक्षले भागबन्डामा चित्त नबुझाएको ठानेर बसेका छन् । वार्तामा आए भाग दिन तयार छौं भन्ने तिनमा लोकतान्त्रिक हैन सामन्ती सोच प्रकट भएको छ । मानौं, कांग्रेस उनीहरूको निजी सम्पत्ति हो र असन्तुष्ट पक्षलाई भागबिलो दिएपछि सबै समस्या समाप्त हुन्छ ।परन्तु स्थिति सभापति पक्षले सोचे जस्तो सरल देखिदैन । कथमकदाचित कुनै काबु बाहिरको कारणले २०७७ को फागुनभित्र महाधिवेशन भएन भने कांग्रेसको वैधानिक अस्तित्व समाप्त हुन्छ । त्यसपछि स्थानीय निर्वाचन सुरू हुन्छ । पार्टी निर्वाचनको घाउमा खाटा बसिसकेको हुदैन । त्यस अवस्थामा चुनावमा जानु आत्मघात गरेसरह हुन्छ । यसैगरी विधानको निलम्बित धाराका कारण कांग्रेस कब्जा गर्ने रणनीति अपनाएर संगठित हुने प्रयत्न गरेका खण्डमा पार्टी ठूलै संकटमा पर्नसक्छ । पार्टीभित्रको अल्पमतलाई तह लगाउन देउवाले प्रयोग गर्न खोजेको अस्त्र उनैतिर र्फकन पनि सक्छ ।

कांग्रेसमा गैरकांग्रेसको प्रभुत्व हुनसक्छ । जिल्ला सभापतिहरूले केन्द्रको रोग पक्कै पहिचान गरेका होलान् । भागबन्डामा होइन विधानको मर्यादा राखेर विवाद टुंगियो भनेमात्र कांग्रेसको लोकतान्त्रिक छवि कायम रहन्छ । देशमा लोकतन्त्र बलियो र अधिनायकवादी शक्ति कमजोर भएको भए कांग्रेस रहनु र नरहनु कांग्रेसकार्यकर्ता बाहेक अरूको चिन्ताको विषय हुने थिएन । अहिले त लोकतन्त्र जोगाउन कांग्रेसमात्र होइन नागरिक समाजका संस्थाहरू समेत जोगिनु आवश्यक छ । पार्टीभित्र भागबन्डाको संस्कृति अन्त्य गर्ने, महासमितिका निर्णयहरू उल्लंघन नगर्ने, विधान मिच्ने काम सहमतिमा पनि नगर्ने र सबै ध्यान महाधिवेशन र संगठन विस्तारमा केन्दि्रत गर्ने प्रतिबद्धता पार्टी सभापति देउवा र अल्पमत पक्षका नेताबाट प्रकट गराउन सके भने सभापतिहरूले कांग्रेस जोगाउन सक्नेछन् । तर अहिलेजस्तै झगडा, गुटउपगुटमा लागे भने कांग्रेस अझै थप कमजोर भएर जानेछ । अतः मुलुक बचाउन कांग्रेस बीपीकै बाटोमा हिड्नुपर्छ । अहिलेसम्म गरेका गल्ती, कमी कमजोरी हटाउदै राजसंस्था पुनस्र्थापित गरी राजासग सहकार्य गरेर अगाडि बढ्नुपर्छ । नत्र कांग्रेस पनि सकिन्छ र मुलुक पनि कम्युनिस्ट अधिनायकवादको सिकार बन्नेछ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार  ८ : ०८ बजे