३० कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो, २ हजार संक्रमित



बेइजिङ — चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ भने १ हजार ९ सय ७५ जनामा यसको संक्रमण देखिएको चिनियाँ अधिकारीहरुले बताएका छन् ।

आइतबार बिहानको रिपोर्टअनुसार अघिल्लो २४ घण्टामा १५ जना नयाँ मृतकहरु फेला परेका हुन् भने ६८८ मा यसको संक्रमण देखिएको छ।

गत महिना मध्य चीनको वुहानमा फेला परेको नयाँ भाइरस नोवेल कोरोना भाइरसको संक्रमण हङकङ, मकाउ, ताइवानमा समेत फैलिएको छ। न्यून मात्रामा थाइल्यान्ड, जापान, दक्षिण कोरिया, अमेरिका, भियतनाम, सिंगापुर, मलेसिया, नेपाल, फ्रान्स र अस्ट्रेलियामा समेत यो प्रकोपको संक्रमण भएको पाइएको छ।

हालै मात्र क्यानाडामा समेत ५० वर्षीय एक मानिसमा पहिलोपटक यसको संक्रमण देखिएको क्यानाडा सरकारले बताएको छ। हालै मात्र चीनको वुहानदेखि ग्वानझाऊ हुँदै टोरन्टो फर्किएका ती मानिसमा कोरोना भाइरसको संक्रमण फेला परेको हो।

शनिबार चिनियाँ राष्ट्रपति सी चिङफिङले त्यहाँको सरकारी टेलिभिजन सीसीटीभीसँग कोरोना प्रकोपका कारण चीनमा भयावह रुप लिएको बताएका थिए। चिनियाँ नयाँ वर्षको छेकोमा आयोजित कम्युनिस्ट पार्टीको सभामा कोरोना रोकथामका लागि तत्कालै सरकारी पहलबारे प्रकाश पारेका थिए।

कोरोना प्रकोपका कारण चीनमा हुँदै गरेका पछिल्ला सार्वजनिक सभा, सभारोह र उत्सवहरु बन्द गरिएको छ भने सहर, बजार, रेल्वे स्टेसन र विमानस्थलमा उच्च सतर्कता अपनाउँदै सुरक्षा बल खटाइएको छ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  ९ : ५२ बजे