२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

नेकपा केन्द्रीय कमिटि बैठक बुधबारदेखि राष्ट्रिय सभा गृहमा हुने, यस्तो छ तयारी



काठमाडौं – सत्तारुढ नेकपाको पार्टी एकतापछि पहिलोपटक केन्द्रीय समितिको बैठक बुधबार बस्ने भएको छ ।

गत मंसिर २९ देखि पुस ६ सम्म बसेको पार्टी स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक २३ पुसबाट बोलाउने निर्णय गरेको थियो । तर २० पुसको सचिवालय बैठकले राष्ट्रिय सभा चुनाव, सभामुख चयन प्रक्रिया लगायतका कारण देखाउँदै बैठक माघ १५ सम्मलाई सार्ने निर्णय गरेको थियो ।

विधान अनुसार ६–६ महिनामा बस्नुपर्ने बैठक नेकपाले २१ महिनासम्म पनि नबोलाएकोमा पार्टीभित्र अध्यक्षद्वयको आलोचना हुँदै आएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ मा पार्टी एकता भएको थियो । एकतापछि ४४१ सदस्यीय केन्द्रीय समिति बनेको नेकपाको उक्त बैठकमा आमन्त्रित नेतासहित ४४७ जना सहभागी हुनेछन् । पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न ठाउँ अभाव हुने भएपछि प्रर्दशनीमार्गस्थित राष्ट्रिय सभागृहमा बस्ने भएको छ ।

बैठकमा अध्यक्षद्वयले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवले प्रस्तुत गर्ने विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावका विषयमा पार्टी नेताबीच समूह विभाजन गरी छलफल गराउने तयारी अध्यक्षद्धयले गरेका छन् ।

बैठकको पहिलो दिन अध्यक्षद्धयका तर्फबाट राजनीतिक प्रतिवेदन र महासचिवका तर्फवाट विधान संशोधन प्रस्ताव पेश भएपछि सहभागी नेताको समूह विभाजन गर्ने नेकपाले जनाएको छ । समूह विभाजन गरेपछि प्रतिवेदन माथिको समूह छलफलका लागि भने पार्टी केन्द्रीय कार्यालय धुम्बाराही, पेरिसडाँडास्थित कार्यालय र सभागृह गरी तीन स्थानमा ठाउँ व्यवस्थापन गरिन लागिएको छ ।

केन्द्रीय समितिका सबै सदस्यलाई बोल्न दिँदा समय व्यवस्थापन जटिल हुने भएकाले समूह विभाजन गरी महाधिवेशन शैलीमा बैठक सञ्चालन गर्ने योजना छ । देशभर परिचालन भएका नेकपाका केन्द्रीय समिति सदस्यलाई पार्टी बैठकमा आउँदा खाने बस्ने व्यवस्था आफैं मिलाउन केन्द्रीय कार्यालयले सूचना पठाएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलबार  ६ : ३६ बजे