नेकपा बैठक : प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल

२०७६ माघ १६, बिहीबार १०:५४

काठमाडाै‌ं– नेकपाको केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा सुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने तयारी भएको नेकपाका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बताए।

महासचिव विष्णुप्रसाद पौडेलले समूहगत छलफलका लागि १५ समूहमा केन्द्रीय सदस्यलाई विभाजन गरेका थिए । वर्णानुक्रमअनुसार ४४१ केन्द्रीय सदस्यलाई विभिन्न १५ समूहमा विभाजन गरिएको हो । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले पार्टीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी २०७७ चैत मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव पेश गरे। त्यसैगरी बैठकमा महासचिव पौडेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बुधबार सातै प्रदेशका अध्यक्षले आ–आफ्नो प्रदेश कमिटीको साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यसूची भए पनि समय अभावका कारण पेश हुन सकेन । बुधबार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन मन्तव्य दिएर बैठक शुभारम्भ गरेका थिए । प्रधानमन्त्री ओलीले उद्घाटन गरेपछि केहीबेरलाई स्थगित भएर पुनः बैठकको बन्दसत्र सुरु भएको थियो ।

उक्त १५ समूहमा सचिवालय सदस्य रहने छैनन् । समूह नेताले समूहका तर्फबाट २० मिनेटमा लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधिसमेत बनाइएको छ । अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन र महासचिवको साङ्गठनिक प्रतिवेदनमाथि बिहीबारदेखि नै समूहगत छलफल हुने छ । छलफलपछि शुक्रबार र शनिबार समूहका नेताले आ–आफ्नो समूहको तर्फबाट लिखित प्रतिवेदन प्रस्तुत गर्ने कार्यविधि रहेको छ ।

यसैगरी बैठकमा केन्द्रीय निकायका अध्यक्षलाई समेत बोल्ने दिइने भएको छ । निकायका अध्यक्षलाई १० मिनेट समय छुट्याइएको छ । कार्यविधिअनुसार आइतबार समूहगत छलफलमा उठेका विषयमा निष्कर्ष प्रस्तुत गर्ने र दस्तावेज पारित गर्ने कार्यतालिका रहेको छ ।

बैठकमा सचिवालय र स्थायी कमिटी बैठकले गरेका निर्णयउपर छलफल गर्ने र अनुमोदन गर्ने कार्यतालिका रहेको छ । बैठकमा श्रव्य र दृश्य सङ्कलन गरिने छ । बैठक बुधबारबाट माघ १९ गतेसम्म प्रत्येक दिन बिहान ११ देखि साँझ ५ बजेसम्म सञ्चालन हुने छ । पार्टी एकतापछि पहिलोपटक कार्यसूचीसहित दोस्रो बैठकमा केन्द्रीय कमिटीका ४४१ सदस्यको सहभागिता रहनेछ ।

सम्बन्धित समाचार