एजेन्सी— कोरोना भाइरसको संक्रमणबाट चीनमा मृत्यु हुनेको संख्या १७० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १७० जनाले ज्यान गुमाएका छन् भने झन्डै ८ हजारमा यसको संक्रमण देखिएको छ ।
बुधबार मात्रै ३८ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ३७ जनामा यसको संक्रमण फैलिएको छ। बिहीबार बिहानसम्म आएको तथ्याङ्कअनुसार ७ हजार ७ सय ७१ जनामा यसको संक्रमण देखिएको छ।
चीनको हुबेई प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण अहिले चीनका सबै प्रान्तमा फैलिएको छ। बुधबार तिब्बतमा पनि कोराेना भाइरसकाे पहिलाे संक्रमणको पुष्टि भएको छ।
विश्वका विभिन्न देशमा पनि फैलिएको छ। चीन बाहेकका विभिन्न देशमा ९० भन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ। चीनबाहिर भने अहिलेसम्म कोरोनाभाइरसको संक्रमणबाट कसैको मृत्यु भएको छैन।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको नियन्त्रणका लागि चीनसँग सहकार्य गरेर अघि बढेको बताएका छन्। उनले आफूहरुसँग विश्वका सबै ठाउँमा विशेषज्ञ रहेको र चाैबीसै घण्टा निगरानी गरिरहेको बताएका छन्।