९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

रुसमा पुटिनको कदमले ल्याएको हलचल



बीके नेवा
विश्वको सबैभन्दा ठूलो मुलुक रुसमा संविधान संशोधन हुँदै छ । दुई दशकदेखि सत्तामा रहनुभएका राष्ट्रपति भ्लादिमिर पुटिनले संविधानमा महत्वपूर्ण सुधार गर्ने घोषणा गर्नुभएको छ । कहिले प्रधानमन्त्री र कहिले राष्ट्रपति भई सत्तामा रहनुभएका उहाँको यस कदमलाई समर्थन गर्दै प्रधानमन्त्री दिमित्री मेदभेडेभले राजीनामा दिनुभएको छ । उहाँको सट्टा पुटिनले सङ्घीय कर सेवा प्रमुख मिखाइल मिसुस्टिनलाई नयाँ प्रधानमन्त्री बनाउनु भएको छ । उहाँमार्फत मुलुकमा रहेको आर्थिक समस्या र गुमेको विश्वास फिर्ता ल्याउने अनुमान गरिएको छ ।

संविधान संशोधनका लागि रुसमा राष्ट्रिय जनमतसङ्ग्रह हुनेछ । नयाँ जनमतले राष्ट्रपतिको अधिकार सीमित गर्दै संसद्को अधिकार बढाउने अपेक्षा गरिएको छ । रुसको संसद्मा केही महत्वपूर्ण परिवर्तनको घोषणा गरिएको छ । अबको जनमतसङ्ग्रहपछि रुसको संसद्लाई प्रधानमन्त्रीको चयन गर्ने अधिकार हुनेछ । साथै राष्ट्रपति पनि एउटै व्यक्ति दुई पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गरिँदै छ ।

नयाँ व्यवस्थामा राज्य परिषद्को अधिकार थप हुनेछ । त्यसका साथै अर्को परामर्शदाता निकाय क्रेमलिनलाई पनि अधिकारसम्पन्न गराउने पक्षमा पुटिन हुनुहुन्छ । अहिले यी दुई निकायको नेतृत्व पनि पुटिनले गर्दै आउनुभएको छ

प्रधानमन्त्रीबाट राजीनामा दिनुभएका मेदभेडेभलाई आफ्ना सहायकका रुपमा चयन गर्नुभएका पुटिनले उहाँलाई सुरक्षा परिषद्को जिम्मेवारी दिनुभएको छ ।

सन् २०१८ मा चौथो पटक राष्ट्रपति निर्वाचित पुटिनको कार्यकाल सन् २०२४ मा सकिँदै छ । उहाँले अगाडि सार्नुभएको सुधार योजनाले कस्तो परिवर्तन ल्याउँछ भनी नयाँ बहस सुरु भएको छ ।

पुटिनको नयाँ योजनाले रुसमा राजनीतिक शक्ति सन्तुलन हुने अपेक्षा गरिँदै छ । अब बन्ने संसद्ले राष्ट्रपतिको अधिकार कटौती गर्नेछ । संसद्मा केही महत्वपूर्ण परिवर्तनको अधिकार राष्ट्रपतिसँग हुनेछैन । तर, राज्य परिषद्को निर्णय संविधानमा नै उल्लेख गरिने सम्भावना छ । यदि त्यसो भयो भने पुटिन सन् २०२४ पछि पनि सत्तामा रहनुहुनेछ । उहाँ सरकार प्रमुख, संसद्को प्रमुख वा राज्य परिषद्को अध्यक्ष भएर रहन सक्ने देखिन्छ ।

पुटिन रुसमा आफूभन्दा शक्तिशाली कोही पनि छैन भन्ने कुरा पनि प्रमाणित गराउने बाटोमा हुनुहुन्छ । त्यसैका लागि उहाँले आफ्नो प्रभाव त्यसपछि पनि कायम राख्न यस्तो कदम चालेका अनुमान गरिँदै छ । अर्को महत्वपूर्ण पक्ष के हो भने रुसी राष्ट्रपति सबैभन्दा शक्तिशाली पदको रुपमा चिनिँदै आएको छ । यो पदमा अहिलेसम्म कुनै पनि अङ्कुशबिना नै रहँदै आएको छ । यस्तोमा पनि रुसको राष्ट्रपति पद पनि केही कमजोर बन्दै गएको देखिन्छ । त्यसैले अबको दिनमा पनि यो पदलाई शक्तिशाली बनाउन राष्ट्रपतिको अधिकार बाँडिएको हुनसक्छ । केहीले पुटिनले आफ्नो कार्यकालपछि पनि आफ्नो आवाज विश्वभर सुनाउन यो कदम चालेको बताएका छन् ।

पछिल्लो आठ वर्षमा प्रधानमन्त्रीका रुपमा मेदभेडेभको प्रभाव खासै बढेन । अधिकार पनि खासै नभएका कारण पनि प्रधानमन्त्रीको भूमिका प्रभावकारी नभएको हो । यस्तोमा उहाँले पद छाड्नु कुनै नौलो कुरा होइन । यसले उहाँलाई आफ्नो छवि राम्रो पार्ने मौका पनि हुनेछ । त्यसैले उहाँले उपयुक्त मौका ठानी सरकारबाट राजीनामा दिनुभएको हो ।

सन् २०१८ मा सरकारले ल्याएको पेन्सन सुधार कार्यक्रम निकै विवादित बन्यो । त्यसका साथै सरकारका अन्य कार्यक्रम पनि विवादमा परे, मानिसले रुचाएनन् । त्यसैले समग्र सरकारका साथै पुटिनको पनि आलोचना भयो । यस्तो अवस्थामा राजनीतिक सुधारको नयाँ मुद्दाले पुटिन र मेदभेडेभ दुवैलाई फाइदा हुनसक्छ । मेदभेडेभलाई आगामी राष्ट्रपतिका लागि योग्य उम्मेदवारका रुपमा पनि हेरिएको छ । संविधानमा सुधार गर्ने योजना दुवै नेताको सहमतिमा ल्याइएको हो । पुटिन र मेदभेडेभबीचको सम्बन्ध घनिष्ट छ ।

रुसमा सन् १५४७ देखिको राजसंस्थालाई सन् १९१७ मा वेल्सेभिक क्रान्तिमार्फत् हटाई कम्युनिस्ट सत्ता स्थापना गरिएको थियो । कम्युनिस्ट सत्ता स्थापना सँगसँगै गणराज्यहरुलाई मिलाएर सोभियत सङ्घ बन्यो । दोस्रो विश्वयुद्धमा जर्मनी पराजित भएपछि पूर्वी युरोप र बाल्कन क्षेत्रमा सोभियत सङ्घको प्रभाव विस्तार भयो । विश्व दुई धुव्रीय बन्यो । एकातिर सोभियत सङ्घ र अर्कोतिर अमेरिका विश्व शक्ति बने ।

सन् १९९१ मा सोभियत सङ्घ विघटन भयो । रुस केही समय अस्तव्यस्त बन्यो । ठूलो आर्थिक सङ्कटमा पर्यो । सन् २००० देखि पुटिन सत्तामा आएसँगै रुसले पुनर्जीवन पाएको छ । उहाँले सोभियतकालीनजस्तो आक्रामक नभए पनि राष्ट्रवादी प्रभाव विस्तार गर्दै विश्व शक्तिका रुपमा पुनः स्थापित गर्ने प्रयास गर्नुभएको छ । उहाँले सन् २०१४ मा युक्रेनको क्रिमियालाई रुसमा विलय गराउनुभयो । रुसलाई बलियो बनाउन साथै यसको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रभाव विस्तार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुटिन संविधान संशोधनमार्फत नयाँ शक्ति सन्तुलन गर्ने र आफूलाई सर्वमान्य नेताका रुपमा स्थापित गर्ने अभियानमा लाग्नु भएको छ ।

सोभियत सङ्घको पतनसँगै पश्चिमाहरुको कठपुतली बन्ने चरणमा पुगेको रुसलाई पुनः विश्व शक्ति राष्ट्र बनाउने पुटिनलाई रुसी जनताले साथ दिएका छन् । रुसमा लोकप्रिय पुटिनका आगामी योजना र कार्यक्रमले रुसलाई थप बलियो र एकताबद्ध गर्ने अपेक्षा गरिएको छ ।

रुस एक करोड ७० लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विश्वको सबैभन्दा ठूलो मुलुक हो । यहाँको जनसङ्ख्या १४ करोड २८ लाख रहेको छ । राष्ट्रभाषा रुसी, धर्म इसाई र इस्लाम रहेको रुसमा पुरुषको ६३ वर्ष र महिलाका ७५ औसत आयु छ ।

विशाल मुलुकको रुसलाई सही नेतृत्व प्रदान गरी राजनीतिक स्थिरता कायम गर्न सफल पुटिनको राष्ट्रवादी कार्यशैली र व्यवहारले रुसलाई पुनः एकीकृत गर्न प्रेरित गरेको छ । तेल र ग्यासले धनी रुसले युरोपको आवश्यकता पूरा गरिदिएको छ । रुसलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने पुटिनको राजनीतिक नेतृत्व र दूरदर्शिताले आगामी दिनमा थप प्रगति हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलबार  १० : १२ बजे