२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

जापानी क्रुजमा कोरोना भाइरस, ३७ सय यात्रुलाई दुई साता क्रुजमै राख्ने



एजेन्सी— टोकियो नजिकै रहेको योकोहामा खाडीमा रहेको क्रुजका १० जना यात्रुमा कोरोना भाइरस देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले डायमण्ड प्रिन्सेस नाम गरेको क्रुजका १० जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि गरेको हो ।

२ सय ७३ जनाभन्दा बढीको स्याम्पल जम्मा गरिएको छ। उनीहरुको रिपोर्ट आएपछि मात्रै अरू यात्रुमा संक्रमण भयो/भएन भन्नेबारे थाहा हुने जापानको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यात्रु र चालकदलका सदस्यसहित क्रुजमा ३ हजार ७ सय व्यक्ति रहेको बताइएको छ। क्रुजमा रहेका सबै व्यक्तिको स्वास्थ्य परीक्षणको रिपोर्ट नआउञ्जेल उनीहरुलाई क्याबिनभित्रै बस्‍न भनिएको छ। जापानी न्युज एजेन्सी क्योदोका अनुसार जापान सरकारले जहाजमा रहेका ५६ देशका यात्रुलाई कम्तीमा पनि दुई साता क्रुजमै राख्नेछ। क्रुजमा थप खानेकुरा र अन्य सामग्री पठाउन लागिएको जापानी अधिकारीले जानकारी दिएका छन्।

जापानी अधिकारीहरुका अनुसार गत महिना कोरोना भाइरस पोजिटिभ देखिएका हङकङका एक यात्रु क्रुजमा भएका कारण संक्रमण फैलिएको आशंका गरिएको छ। मध्य जनवरीमा हङकङबाट टोकियो आइपुगेका ती व्यक्ति जनवरी २० योकोहामाबाट क्रुजमा चढेको र जनवरी २५ हङकङ उत्रिएको बताइएको छ।

जापानी सञ्चार माध्यम एनएचकेका अनुसार १० जनाबाहेक कसैमा पनि ज्वरो र अन्य लक्षणहरु देखिएको छैन। कोरोना भाइरस पोजिटिभ देखिएकालाई कानागावामा रहेको अस्पताल लगिएको छ।

जापानमा कोरोना भाइरस संक्रमितको संख्या २३ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ। चीनको हुबेईबाट सुरु भएको कोरोना भाइरसका कारण बुधबार बिहानसम्म ४९२ जनाको मृत्यु भएको छ । त्यसमध्ये चीनमा ४९० जना, हङकङ र फिलिपिन्समा एक-एक जनाको मृत्यु भएको हो। त्यस्तै चीनसहित विश्‍वका २५ भन्‍दा मुलुकका २४ हजारभन्दा बढी व्यक्तिमा यसको संक्रमण देखिएको छ।

 

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार  ११ : ५१ बजे