काठमाडौँ — कुवेतमा बालुवाको ढिस्कोले पुरिएर चार जना नेपाली कामदारको मृत्यु भएको छ । समाचारहरुमा जनाइएअनुसार कुवेतको अल मुत्ला क्षेत्रमा निर्माणस्थलमा बालुवाको ढिस्को खस्दा ४ जना नेपाली कामदारको मृत्यु भएको हो । मृत्यु हुनेहरुको पहिचान खुलिसकेको छैन ।
चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासि बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जनाको सकुशल उद्धार गरिएको कुवेती अधिकारीले जनाएका छन् । ३ जनाको घटनास्थलमै र एक जनाको बाहिर निकालेपछि मृत्यु भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
कुवेतको भौतिक मामिलासम्बन्धी मन्त्री राना अल फरिसले घटनाको अनुसन्धान गर्न छानबिन समिति गठन गर्न निर्देशन दिएकी छिन् । उनले दुर्घटनाको कारण पत्ता लगाइ दोषीलाई कारबाहीको दायरामा ल्याउन पनि निर्देशन दिएकी छिन् ।