२ आश्विन २०८१, बुधबार | Thu Sep 19 2024

अन्तर्राष्ट्रियकरण नगर्ने सर्तमा इस्लामिक सम्मेलन गर्न अनुमति, विदेशी सहभागी फर्काइने



सप्तरी– सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाजरमा शनिबारदेखि सुरु हुने भनिएको इस्लामिक सम्मेलन इज्तिमालाई गृह मन्त्रालयले फेरि अनुमति दिएको छ ।

आयोजक समितिले बंगलादेश र पाकिस्तानबाट आएका धर्मगुरुहरुलाई फर्काउने र यसलाई अन्तर्राष्ट्रियकरण नगर्ने प्रतिबद्धता जनाएपछि गृह मन्त्रालयलेअनुमति दिएको हो ।

बिहीबार नेपाल र भारत बाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृह मन्त्रालयले बिहीबार उक्त सम्मेलनमा रोक लगाएको थियो ।

‘सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने पूर्व सर्त नै थियो, त्यो सर्त पालना गरिने जिम्मा मुस्लिम आयोगले लिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने, ‘नेपाल र भारतका सहभागी आएर मात्र सम्मेलन गरे कुनै रोक छैन् ।’

माघ ६ गते सम्मेलनका लागि अनुमति दिँदा नै सम्मेलनलाई अन्तर्राष्ट्रियकरण नगर्ने सर्त राखिएको प्रवक्ता शर्माले बताए । ‘सम्मेलनमा विदेशी नागरिकहरु पनि भेला हुन थालेपछि सम्मेलनको जिम्मा लिएको संवैधानिक निकाय मुस्लिम आयोगलाई पत्राचार गरी सर्त पालना नभएको भन्दै सम्मेलन रोक्‍न पत्राचार गर्यौं ।’

इज्तिमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बंगलादेश र पाकिस्तानवाट आएका धर्मगुरु र सहभागीहरुलाई फर्काइने बताए । उनले ती मुलुकबाट कति संख्यामा धर्मगुरु र सहभागी आएका छन् त्यसको तथ्यांक संकलन गरिरहेको जानकारी दिए । ‘पाकिस्तान र बंगलादेशवाट आएकोहरुको संख्या जिल्ला प्रशासनले मागेको छ,’ संयोजक गफुरले भने, ‘उनीहरुको एकिन संख्या संकलन गरिरहेका छौं ।’

सप्तरीका सुरक्षा अधिकारीहरुका अनुसार सम्मेलनमा पाकिस्तान, बंगलादेश, कतार, दुबई र मलेसियालगायतका देशबाट समेत सहभागीहरु आएका छन् । सयभन्दा बढी संख्यामा आएका विदेशी सहभागीहरुलाई तत्काल फर्काउन प्रशासनले आयोजकलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार  ५ : १५ बजे