पूर्वसभामुख महराले पाए सफाइ

२०७६ फाल्गुन ५, सोमबार १६:२०

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएको छ ।

सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।

जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।

संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।

सम्बन्धित समाचार