२९ पुस २०८१, सोमबार | Mon Jan 13 2025

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध



काठमाडाैं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको अडियो छानबिन गर्न माग गरेको छ ।

सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको बिहीबारको बैठक अवरुद्ध गरे । सभाको आजको बैठक सुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदलाई बस्न पटकपटक आग्रह गरे पनि उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले दिएको समयमा काँग्रेसका जीतेन्द्रनारायण देवले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि उनी निकटका मन्त्री एवं सरकारको प्रवक्तासमेत रहेका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा ७० करोडदेखि ७५ करोडसम्म कमिशन मागेको’ भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म संसद् चल्न नसक्ने बतएका थिए ।

काँग्रेसले अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गरी निष्पक्ष छानबिन गर्र्न र सो घटनाका विषयमा संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष तिमल्सिनाले पटकपटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदले उठेर विरोध जनाएपछि बैठक यही फागुन १५ गते बिहीबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहिबार  ३ : ३२ बजे