नयाँ दिल्ली (एजेन्सी) – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टिकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाएका छन् ।
भारत भ्रमणमा रहेका ट्रम्पले मंगलबार गान्धीको समाधिस्थल राजघाटमा पुगेर गान्धीप्रति श्रद्धान्जली व्यक्त गर्दै गान्धीको दृष्टिकोणप्रति अठोट व्यक्त गरेका हुन् ।
समाधिस्थलमा राखिएको आगन्तुक पुस्तिकामा उनले लेखेका छन्, ‘स्वायत्त र स्वतन्त्र भारतका लागि महात्मा गान्धीले खेल्नु भएको भूमिका र महात्मा गान्धीका अन्य दृष्टिकोणप्रति अमेरिकी जनता सशक्त रुपमा उभिन्छन्, यही नै तपाईप्रति श्रद्धा सुमन छ ।’
महात्मा गान्धीलाई श्रद्धान्जली दिन अमेरिकी प्रथम महिला तथा ट्रम्पपत्नी मेलानीया ट्रम्प पनि राजघाट गएकी थिइन् ।
त्यहाँ रहँदा उनीहरुले एक मिनेट मौनधारण गरेका थिए । उक्त अवसरमा उनीहरुलाई केन्द्रीय मन्त्री हरदीप सिंह पुरीले महात्मा गान्धीको अर्धकदको प्रतिमा उपहार स्वरुप प्रदान गरेका थिए ।
राजघाटमा राष्ट्रपति ट्रम्प दम्पत्तिले बृक्षरोपण पनि गरेका थिए । दुई दिने भ्रमणका लागि सोमबार भारत आएका ट्रम्पको टोली भ्रमणको पहिलो दिन गुजरातमा बनाइएको संसारकै सबैभन्दा ठूलो मानिने मोटेरा क्रिकेट रंगशाला र प्रेमको प्रतीक मानिने ताज महल गएको थियो ।
रंगशालामा नमस्ते ट्रम्प नाम दिइएको भव्य कार्यक्रममा ट्रम्पले सम्बोधन गरेका थिए । आफ्नो कार्यकालको अन्तिम वर्ष भारत भ्रमणमा आएका ट्रम्प मंगलबार राति स्वदेश फर्किने कार्यक्रम छ । ट्रम्पको भारत भ्रमणले भारत र अमेरिकाबीचको सम्बन्धमा सकारात्मक प्रभाव पर्ने विज्ञहरुले विश्वास व्यक्त गरेका छन् ।