काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली नै पार्टी सचिवालयको निर्णयको विपक्षमा उभिएका छन् ।
उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने आफूसहितको बुधबार सचिवालय बैठकले गरेको निर्णयको केही घण्टा नबित्दै ओलीले असहमति जनाएका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा गौतमलाई लैजाने बुधबार बसेको सचिवालय बैठकको निर्णय लगत्तै आफ्ना विरुद्ध ‘खेल’ भएको भन्दै ओलीले उक्त निर्णय नमान्ने बताएका हुन्।
सचिवालयका केही नेतालाई फोन गरेर ओलीले वामदेवलाई राष्ट्रियसभामा सिफारिस नगर्ने चेतावनी दिएको स्रोतले बतायो। बुधबार बसेको सचिवालय बैठकमा ‘अन्य सदस्यहरूले पहिल्यै निर्णय गरेर आएकाले वामदेवलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरौँ’ भनेर असन्तोष मिश्रित भाषामा स्वीकृति दिएको सचिवालयका एक सदस्यले बताए।
तर, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने वामदेव गौतमको विषयमा सचिवालय बैठकमा सर्वसम्मत भएकाले प्रधानमन्त्रीले उल्ट्याउन नमिल्ने दाबी गरे ।
संवैधानिक व्यवस्था अनुसार ५९ सदस्यीय राष्ट्रिय सभामा राष्ट्रपतिले ३ जना सदस्य मनोनीत गर्नुपर्ने हुन्छ । यसअघि राष्ट्रपतिबाट मनोनीत भएका युवराज खतिवडाको कार्यकाल २० फागुनमा सकिने भएपछि उनको ठाउँमा नेता गौतमलाई लान खोजिएको हो । राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनुपर्ने व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्ने सर्त राख्दै आएका गौतम बुधबार सर्तबाट पछि हटेपछि नेकपामा विवाद देखिएको छ । गौतमले संविधान संशोधन बिना नै सांसद बन्न तयार भएपछि शनिबार गठन गरिएको भनेको नेकपा कार्यदल भंग गरिएको छ ।
राष्ट्रिय सभा सदस्य छनोट विवाद सतहमा आएपछि नेकपाभित्र झन् विश्वासको संकट देखिएको छ । ९ सदस्यीय सचिवालयमा ओली पक्षधर अल्पमतमा र प्रचण्ड, माधव नेपाल समूह बहुमतमा देखिएका छन् । पछिल्लो निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री ओली नै असन्तुष्टि देखिएकोले यसले पार्टीमा गम्भीर असर पुग्ने विश्लेषकहरुको भनाइ छ ।