४४ देशमा कोरोना भाइरस, २७ सय बढीको मृत्यु, ८१ हजार संक्रमित

२०७६ फाल्गुन १५, बिहीबार २३:५५

काठमाडाै‌ (एजेन्सी)– चीनबाहिर कोभिड–१९ नाम दिइएको नोबेल कोरोनाभाइरस तीव्ररुपमा फैलिन थालेको छ । पछिल्लो पटक ब्राजिलमा पहिलो कोरोनाभाइरस संक्रमण फेला परेको हो ।

योसँगै पहिलो पटक चीनमा भन्दा चीनबाहिर नयाँ संक्रमितको सङ्ख्या बढी देखिएको छ । ब्राजिलमा इटालीबाट फर्किएका एक ६१ वर्षीय बृद्धमा कोरोनाभाइरस देखिएको जनाएको छ ।

यो रोगले हालसम्म २७ सयभन्दा बढीको ज्यान लिइसकेको छ भने ४४ देशहरुमा ८१ हजारभन्दा बढी संक्रमित भइसकेका छन् । यसमध्ये धेरै चीनमा रहेका छन् ।

विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाभाइरसबाट संक्रमित हुने नयाँ रोगीको सङ्ख्या ४११ भएको जनाएको छ भने चीनबाहिर यो सङ्ख्या ४ सय २७ रहेको थियो ।

विश्वब्यापीरुपमा कोरोनाभाइरस फैलिन थालेपछि बुधबार चीनले कोरोनाप्रभावित बाहिरी मुलुकबाट आफ्नो राजधानी बेइजिङमा आउने नागरिकहरुलाई १४ दिनको ‘सेल्फ क्वारेन्टाइन’ मा जाने घोषणा गरेको छ ।

ग्रीसमा पनि बुधबार पहिलो कोरोनाभाइरस संक्रमित फेला परेको छ भने स्पेन, क्रोएसिया, अस्ट्रिया, उत्तर मेसेडोनिया र अल्जेरियामा पनि संक्रमित फेला परेको बताइएको छ ।

इटालीमा हालसम्म ३ सय ७४ जना कोरोना संक्रमित फेला परेका छन् भने १२ जनाले ज्यान गुमाइसकेका छन् । मध्यपूर्वमा इरान कोरोनाको केन्द्रविन्दु बनेको छ । त्यहाँ १ सय ३९ जनामा यो रोग देखापरेको छ भने १९ जनाले यसबाट ज्यान गुमाएका छन् ।

चीनपछि दक्षिण कोरिया सबैभन्दा प्रभावित देखिएका छन् । बुधबार त्यहाँ २ सय ८४ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै त्यहाँ संक्रमितको सङ्ख्या १२ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

सम्बन्धित समाचार