दार्चुला– राष्ट्रपति विद्यादेवी भण्डारी सुदूरपश्चिमको दार्चुलास्थित ऐतिहासिक मालिकार्जुन मन्दिरमा पूजापाठ तथा नागरिक अभिनन्दन ग्रहणका लागि बिहीबार दार्चुला पुगेकी छन् । मालिकार्जुन गाउँपालिकामा रहेको मालिकार्जुनमा उनलाई पहिलो पटक अभिनन्दन गर्न गरिएको छ ।
राष्ट्रपति भण्डारीलाई प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीलगायतले स्वागत गरेका थिए । राष्ट्रको सातौँ धामका रूपमा रहेको मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारीले विशेष पूजापाठ गर्ने कार्यक्रम छ । राष्ट्रपतिसँगै टोलीमा सुदूरपश्चिम प्रमुख शर्मिलाकुमारी पन्त र प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि छन् ।
मालिकार्जुन मन्दिर सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तीर्थस्थल हो । भगवान् शिवका १२ ज्योतिर्लिङ्गमध्ये दोस्रो ज्योतिर्लिङ्ग मालिकार्जुनलाई मानिन्छ । यस क्षेत्रमा दार्चुला जिल्लाका साथै सुदूरपश्चिम र भारत उत्तराखण्डका नागरिकले आराध्यदेवका रुपमा मालिकार्जुनको पूजापाठ गर्छन् । सरकारले पर्यटकीय गन्तव्यको एक सय सूचीमा यसलाई समावेश गरेको छ । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा राष्ट्रपतिको भ्रमणले स्थानीयस्तरमा खुशीयालीसमेत छाएको शिक्षक भुवन डागाले बताए।
मन्दिरमा हरेक वर्ष आश्विन र नवरात्रिभरि शिव र शक्तिको पूजा हुने गरेको छ । नौरथा पर्वमा यस क्षेत्रका हजारौँ भक्तजन मन्दिरमा पूजाका लागि सहभागी हुन्छन् । मालिकार्जुनको बासस्थान शैल्यशिखर पर्वतमा रहेको मन्दिरका मुखिया रुद्रसिंह धामी बताउँछन् । शैल्यशिखर मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमामा पर्छ । राष्ट्रपतिको भ्रमणका अवसरमा ती दुई स्थानीत तहले आज बिदासमेत दिएका छन् ।
शुक्रबार कञ्चनपुर जाने
राष्ट्रपति भण्डारी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सवमा सहभागी हुन शुक्रबार कञ्चनपुर जाने भएकी छन् । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयको प्रवेशद्वार नजिक रहेको मैदानमा आयोजना गरेको सो महोत्सवलाई उनले सम्बोधनसमेत गर्ने नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।
नेपाल भ्रमण वर्ष २०२० लाई ध्यानमा राखी शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित विभिन्न पर्यटकीय क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि गरिएको उक्त महोत्सव यही फागुन ९ गतेदेखि जारी छ ।