४ श्रावण २०८३, सोमबार | Mon Jul 20 2026

दाहाललाई लक्षित गर्दै राष्ट्रियसभा गृहमा जुत्ता प्रहार



काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गर्दै काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा जुत्ता प्रहार भएको छ ।

आइतबार भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका दाहाललाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन।

दाहालले कार्यक्रमलाई सम्बोधन गरिरहेको भिडिओ उनको सचिवालयले फेसबुकमा लाइभ गरिरहेको थियो।
दाहालले आफ्ना कुरा राखेर पोडियमबाट फर्कंदै गर्दा उनलाई लक्षित गर्दै जुत्ता प्रहार भएको हो । दर्शक बस्ने ठाउँबाट जुत्ता प्रहार भएपछि मञ्चमा रहेका सुरक्षाकर्मीहरू दौडेर ती व्यक्तिलाई पक्रन गएको भिडिओमा देखिन्छ।

दाहाललाई लक्षित गरेर पूर्वमाओवादी लडाकुका छोराले जुत्ता प्रहार गरेको खुलेको छ ।

पूर्वमाओवादी लडाकुका छोरा रतन तिरुवाले दाहाललाई लक्षित गरेर जुत्ता प्रहार गरेको काठमाडौं प्रहरीका एसपी सोमेन्द्र सिं राठौरले बताए।

जुम्ला घर भएका तिरुवाले लोकसेवा आयोगको तयारी गरिरहेको एसपी राठौरले बताए। उनका बुबा मुन तिरुवा माओवादी द्वन्दकालमा मारिएका थिए।

तिरुवा डल्लु बस्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको राठौरले बताए।

प्रकाशित मिति : १८ फाल्गुन २०७६, आइतबार  ९ : ४३ बजे