३० असार २०८१, शनिबार | Sat Jul 13 2024

साझा पार्टीको महाधिवेशन ०७८ जेठमा



काठमाडौँ — साझा पार्टीको महाधिवेशन २०७८ जेठमा हुने भएको छ । लुम्बिनीमा तीन दिनसम्म चलेको पार्टीको राष्ट्रिय भेलाले २०७८ साल जेठ १५ देखि १७ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको हो ।

शनिबार सम्पन्न भेलाले १४ बुँदे लुम्बिनी घोषणापत्र जारी गरेको छ। भेलाले पार्टीको एक वर्षको रणनीति र कार्यनीति पारित गरेको छ। त्यस्तै विवादित हुँदै गएको धर्म निरपेक्षता र संघियताका बारेमा जनमत संग्रहको पक्षमा उभिने निर्णयसमेत भेलाले गरेको छ।

घोषणापत्रमा आगामी वर्ष संगठन विस्तार तथा सुदृढीकरण, वैचारिक तथा राजनीतिक दिशानिर्देश र प्रशिक्षणका लागि नीति तथा स्कुलिङ, भ्रष्टाचार विरोधी अभियान, समान विचार राख्ने व्यक्ति, समूह र राजनीतिक शक्तिहरुसँग सहकार्य, एकता र ध्रुविकरण तथा पार्टीलाई दरिलो बनाउन स्रोत व्यवस्थापनमा केन्द्रीत गर्ने उद्देश्य राखिएको उल्लेख छ।

भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न २०४६ सालदेखि राजनीतिक र प्रशासनिक पदमा रहेका सबैको सम्पत्ति जाँचबुझ गरी अवैध सम्पत्ति सरकारीकरण गर्ने माग गरेको छ। दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न दबाब दिने निर्णय पनि भेलाले गरेको छ।

बढ्दोरूपमा विवादित बन्दै गएको र दीर्घकालसम्म देशलाई असर गर्ने धर्मनिरपेक्षता र संघीयताबारे जनमत संग्रहको पक्षमा उभिने निर्णय बैठकले गरेको छ।

सरकारी कर्मचारीहरुलाई पार्टीको सुभेच्छुक संगठनको रुपमा बनेका युनियन खारेज गर्न माग गर्ने निर्णय गरेको छ।संघ र प्रदेश तहमा सांसदका नाममा छुट्ट्याइदै आएको बजेट खारेज गर्न र त्यसबाट बचेको अर्बौँ रकम गुणस्तरीय सार्वजनिक शिक्षाका लागि उपयोग गर्न दबाब दिर्ने निर्णय समेत साझा पार्टीको भेलाको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०७६, सोमबार  ६ : ०७ बजे