१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

शेर्पा समुदायका पहिलो मुटुरोग विशेषज्ञ डा. कुन्जाङ सम्मानित



काठमाडौं । शेर्पा समुदायका पहिलो मुटुरोग विशेषज्ञ डा. कुन्जाङ शेर्पालाई शेर्पा सेवा केन्द्र बौद्धले शेर्पा समुदायको महान् चाड ग्याल्बो ल्होसारको अवसरमा विशेष सम्मान गरेको छ ।

केन्द्रले शेर्पा समुदायमा पहिलो मुटुरोग विशेषज्ञ तथा डिएम कार्डिलोजिस्ट हुन सफल भएकोमा डा. कुन्जाङलाई सम्मान गरेको हो । उक्त अवसरमा उनीसँगै पेट रोगसम्बन्धी डिएम गरेका डा. छिरिङ वाङ्दी शेर्पालाई पनि सम्मान गरिएको थियो । उनीहरु दुबैलाई केन्द्रका अध्यक्ष श्रीमती सोनाछाटीले खादा र प्रमाणपत्रले सम्मान गरेका थिए । डा छिरिङ वाङदी सोलुखुम्बु नाम्चे निवासी हुन् ।

सोलुखुम्बु सल्लेरीमा जन्मेका डा. कुन्जाङ गंगालाल मुटुरोग अस्पतालमा मुटुरोग विशेषज्ञको रुपमा कार्यरत छन् । उनले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबिबिएस र बीपी कोइराला स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान धरानबाट इन्टरनल मेडिसिनमा एमडि गरेका थिए । त्यसलगतै प्रतिष्ठानमा एसिस्टेन्ट प्रोफेसर भएर अढाइ वर्ष कार्य गरेका थिए । त्यसपछि उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानद्वारा डिएम कार्डियोलोजीको तीन वर्षे छात्रावृत्तिमा छनोट भई तीन वर्ष अध्ययन पूरा गरी हालै डिएम कोर्डिलोजीको जाँचमा उत्तीर्ण भई डिएम हुन सफल भएका छन् । यस अवधिमा उनले मुटुरोग सम्बन्धित विभिन्न स्वस्थ्य शिविरहरुमा भाग लिनुका साथै अनुसन्धान कार्यमा लाग्दै आएका थिए । डा. कुन्जाङ सोलुखुम्बु सदरमुकामस्थित जन जागृति माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक आङदावा शेर्पा र वाणिज्य बैक सल्लेरीका पूर्वकर्मचारी पासाङ दिकी शेर्पाका छोरा हुन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७६, बुधबार  ४ : ४८ बजे