९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

प्रधानमन्त्रीलाई एक साता अस्पतालमै राखिने



काठमाडाैं– प्रधानमन्त्री केपीशर्मा ओलीलाई एक सातासम्म अस्पतालमै राखिने भएको छ।

प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहले ओलीलाई चार दिनपछि डिस्चार्ज गर्न सकिने भए पनि भेटघाट कम गराउन एक सातापछि मात्र डिस्चार्ज गराउन लागिएको बताएकी हुन् ।

प्रधानमन्त्री ओलीको बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो। ‌ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको शाहले जानकारी दिइन्। स्वास्थ्य खतरामुक्त भए पनि अझै संक्रमणको जोखिम रहने भएकाले अझै एक सातासम्म अस्पतालमै राख्ने सोच बनाएको डा. शाहले बताइन् ।

बालुवाटारमा प्रधानमन्त्रीलाई लैजाँदा भेटघाट बढी हुने भएकाले अस्पतालमा राख्न खोजिएको उनले बताइन्। उनले प्रधानमन्त्रीलाई एक महिनासम्म कडा डोजको अवस्था चलाइने उल्लेख गरिन्। उनले प्रधानमन्त्रीले खानपिनमा ध्यान दिनुपर्ने र इन्फेक्सनबाट जोगिनुपर्ने बताइन्।

शाहले प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्थामा सुधार भइरहेको जानकारी दिइन्।

प्रकाशित मिति : २३ फाल्गुन २०७६, शुक्रबार  ११ : ४३ बजे