प्रिन्सको लगातार दोस्रो जित

२०७६ फाल्गुन २३, शुक्रबार १३:१९

 

काठमाडाैं– नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले योनेक्स जर्मन जुनियर ब्याडमिन्टन सिरिजमा लगातार दोस्रो जित निकालेका छन् । जर्मनीको बर्लिनमा बिहीबार भएको पुरुष यु–१९ एकलतर्फको खेलमा प्रिन्सले जर्मनीका बेन्नेट पिटर्सलाई २–० सेटमा पराजित गरे ।

जितसँगै प्रिन्स अन्तिम ३२ मा पुग्न सफल भएको जर्मनीमै रहेको उनका ब्यवस्थापक कमलेश निरौलाले जानकारी दिए । प्रिन्सले उक्त खेलमा जर्मनीका खेलाडी २१–१३ र २१–१२ अङ्कले पराजित गरेका थिए ।

यसअघि उनले अष्ट्रियाका लेनी सुदर्मालाई २–० सेटमा पराजित गरेका थिए । यसअघि प्रिन्सले यसैसाता नेदरल्यान्डमा भएको योनेक्स डच जुनियर इन्टरनेसनल सिरिजमा प्रि–क्वाटरफाइनलबाट बाहिरिएका थिए ।

उनी प्रि–क्वाटरफाइनलमा चाइनिज ताइपेइका खेलाडीसित पराजित भएका थिए । विश्व ब्याडमिन्टन सङ्घले मङ्गलबार जारी गरेको जुनियरतर्फको विश्व वरियतामा प्रिन्स १०औँ स्थानमा पुग्न सफल भएका थियो । यो नेपाली ब्याडमिन्टन खेलाडीको हालसम्मकै ठूलो सफलता हो ।

सम्बन्धित समाचार