न्युयोर्क– अमेरिकामा कराँते खेल्दै आइरहेकी १५ वर्षीया नेपाली चेली केल्साङ एन्जेला लामा अमेरिकाको कराते महासंघको राष्ट्रियस्तरको पहिलो महिला कराते निर्णयक भएकी छन् ।
न्युयोर्कको म्यानहृटनमा कक्षा १० मा अध्ययनरत केन्साङले गत हप्ता यो उपाधि पाएकी हुन् । उनलाई युएस कराँते महासंघको रेफ्री चेयरमेन क्लिबाक्स्टरले उपाधि दिएका हुन । उक्त उपाधि पाए लगतै केल्साङले गत मार्च ८ तारिख न्युयोर्कको फलासिङमा आयोजित न्युयोर्क इन्टरनेशनल ओपन च्याम्पीयनसीपमा निर्णयकको भुमिका निभाएकी थिइन् ।
‘निरन्तर लाग्दै आउने क्रममा मैले पाएको यो उपाधिले निकै खुसी तुल्यायो,’ केल्साङले भनिन्-‘ यो सफलता हात पार्नमा आफनो मेहनतसँगै आफुलाई प्रशिक्षण दिने गुरुलाई सम्झन चाहान्छु ।’ यो सफलतासँगै थप तालिम गरेर उपल्लो तहको बेल्ट र बरिष्ठ निर्णयक तहमा पुग्ने लक्ष्य लिएकी उनले बताइन्।
उनलाई न्युयोर्कको ज्याक्सनहाइटस्थित इन्टरनेशनल मार्सल आर्टस एसोसियसन डोजोका प्रमुख प्रशिक्षक पर्खी राइले प्रशिक्षण दिँदै आइरहेका थिए । जुनियर ब्लेक बेल्ट तहमा पुगेकी एन्जीलाले प्रशिक्षणको क्रममा अहिलेसम्म विभिन्न प्रतियोगिताहरुमा स्वर्ण, रजत र कास्य पदक समेत हात पारिसकेकी छन् । उनी सोमु वाइवा र कुन्चोग दोर्जी लामाकी छोरी हुन ।
‘निकै अनुशासित र लगनसील भएर नेपाली महिलाको प्रतिनिधित्व गदै एन्जीलाले पाएको यो उपाधिले हामीलाई निकै गौरवन्वीत तुल्यायो’ एन्जेलाकी प्रशिक्षक पर्खी राइले भने, ‘केही गर्छु भन्ने हिम्मतका साथ खेल्दै आएकी उनको यो सफलताले अरु खेलाडीहरुलाई पनि थप होसल्ला मिलेको छ ।’
प्रशिक्षक राई प्रशिक्षक राई अमेरिकामा कराते सिकेर युएस कराँते फेडरेसनको राष्ट्रिय रेफ्री तथा अन्तराष्ट्रिय निर्णयक तहमा पुग्ने नेपाली हुन् । उनका अनुसार जुनियर ब्लेकबेल्ट पाएको १४ बर्षको माथिका खेलाडीले राम्रो खेल प्रस्तुतिपछि निर्णयकको उपाधि पाउँदै आएका छन् । डोजोबाट अहिलेसम्म ३ जना नेपाली खेलाडीले निर्णयकको उपाधि पाइसकेकोमा एन्जीला पहिला महिला भएको प्रशिक्षक राइले बताए ।